कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

१ कार्तिक २०८०, विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी ८६ मत पाउनु भएको छ । मुख्यमन्त्री कार्कीका पक्षधर नेपाली कांग्रेस आठ जनासहित २९, नेकपा (एमाले)का ३९ जना, नेकपा (माओवादी केन्द्र)का १३ जना, नेकपा (एकीकृत समाजवादी)का ४ जना र जसपाका एक सहित ८६ जनाले विश्वासको मत दिएको उपसभामुख सिर्जना दनुवारले घोषणा गर्नुभयो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मत विभाजनको आधारमा मुख्यमन्त्री कार्की पक्षमा ८६ र प्रतिपक्षमा राप्रपाका पाँच मत परेको थियो ।
विश्वासको मतको प्रस्ताव पेश गर्दा छलफलमा भाग लिँदै एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निर्माण गर्दा संविधानको सबै धारा प्रयोग भइ अहिलेको अवस्थामा आएको बताउनुभयो । मिलेर काम गर्न तथा सङ्घीयतालाई बलियो बनाउन अहिलेको विकल्प नै उत्तम भएको बताउँदै उहाँले सहमति, सहकार्य र एकताको संस्कृतिलाई बचाउन नै आफ्नो पार्टीले विश्वासको मत दिने स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रधानमन्त्री दाहाल अहिले साँझ अस्पताल भर्ना
Next post पाँचथरमा सवारी दुर्घटना हुँदा आठ जना घाइते