स्थानीय सरकारको अनुदान पाए पछि झापामा तोरी खेतीमा किसानको आकार्षण बढ्दो (फाेटाे फिचर)
३ पौष २०८०/डिकेश लामा
स्थानीय सरकारले तोरी खेतीमा अनुदान उपलव्ध गराए पछि झापामा खेती प्रति बर्षेनी किसानको आकार्षण बढ्न थालेको छ । तेलको मुल्य बृद्धिसँगै तोरीको समेत राम्रो मुल्य आउन थाले पछि किसानले व्यवसायिकरुपमा खेती थालेका हुन् । यस अघिका बर्षहरुमा बाँझै रहने जमिनमा झापाका किसानले तोरी खेती गर्न थालेका छन् । स्थानीय तहले मल र विऊ अनुदानमा दिन थाले पछि किसानले तोरी खेतीलाई जोड दिन थालेको उनीहरुले बताएका छन् । दमक वडा नं. १० मा झण्डै १ विगाह क्षेत्रमा तोरी खेती गर्नु भएको मदन मिश्रका अनुसार यो बर्ष अनुदान बाहेकमा पनि धेरै तोरी खेती भएको छ । उहाँले अनुदान नपाए पनि तोरीको मुल्य बृद्धि र बजारको तेल अशुद्ध हुने भएकाले आफैले तोरी खेती गरेको बताउनु भयो ।
दमक नगरपालिकाले यस बर्ष ७५ प्रतिशत अनुदानमा ५ सय जना हाराहारी किसानलाई तोरीको विऊ र मल उपलव्ध गराएको छ । १० कठ्ठा देखि १ विगाहसम्म खेती गर्नेलाई ५ केजी विऊ र मल उपलव्ध गराएको कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनु भयो । दमकमा मात्र यो बर्ष ५ लाख बजेटमा १ हजार ३ सय १३ केजी तोरीको विऊ सहित आवश्यक मल वितरण गरिएको छ । यो बर्ष अनुदानमा दिइएको तोरीको विऊले मात्र ६ सय १० विगाह तोरी खेती भएको उहाँले बताउनु भयो ।
यस्तै यता गौराद नगरपालिकाले समेत अनुदानको कार्याक्रम राखेको छ । तोरीको उन्नत जातको मुल विऊ उत्पादनका लागि १ विगाहसम्म खेती गर्ने किसानलाई आवश्यक मल र विऊ समेत अनुदानमा दिने कार्याक्रम राखेृको नगरपालिका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो । प्रमुख सुवेदीका अनुसार पूर्व विऊ भएकाले लगातार ३ बर्षसम्म खेती गरेर मात्र तेलमा प्रयोग हुने गरी अनुदान राखेकाले पालिकामा तोरी खेती विस्तार हुने बताउनु भयो ।
खेती गर्ने तरिका र ज्ञानको अभावमा यस अघि तोरी खेती गर्ने किसानले समेत खासै आम्दानी लिन सकेका थिएनन् । तर पछिल्लो समय उन्नत विऊ र माटो अवस्था हेरी खेती गर्न थाले पछि उत्पादन समेत बढ्न थालेको दमक नगरपालिका वडा नं. १० का किसान केदार मिश्रले बताउनु भयो । मिश्रका अनुसार २५ प्रतिशत किसानको लगानी र ७५ प्रतिशत नगरपालिकाले अनुदान दिए पछि तोरी खेती गर्ने किसानलाई धेरै राहत पुगेको उहाँले बताउनु भयो ।
झापा जिल्लामा ३ बर्ष यता झण्डै दोब्बर क्षेत्रफल ६ हजार हेक्टरमा तोरी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बर्षेनी खेती विस्तार हुन थाले पछि किसानहरु तेलहन बालीमा आत्मानिर्भरोन्मुख बन्दै गएको उनीहरुको भनाइ छ ।