सडकमा १६ करोड बढीको क्षतिः यातायात सुचारु

२५ असोज २०८१/झापा

असोज महिनामा आएको अविरल बर्षा र बाढीका कारण झापा तथा इलाममा सडक र पुलमा गरी १६ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । झापा र इलाम जिल्लामा पूर्वाधार क्षेत्रमा काम गर्दै आएको पूर्वाधार विकास कार्यालय झापाका अनुसार सवै भन्दा धेरै सडकमा १४ करोड ३० लाख रुपयाँको क्षति भएको छ ।

सडक र पुलमा आएको क्षतिले आवातजावातमा समस्या भएकाले अस्थायीरुपमा चल्ने गरी बनाउन काम भइरहेको पूर्वाधार विकास कार्यालय झापाका सूचना अधिकारी इन्जिनियर उतम खरेलले बताउनु भयो । खरेलका अनुसार पुलमा १ करोड ७५ लाख हाराहारीमा क्षति आएको छ भने सडकमा १४ करोड बढीको क्षति भएको उहाँले बताउनु भयो ।

दशैंको वेला आवात जावात बढ्ने भएकाले रोकिएका सडकहरु धमाधम खोल्न थालिएको हो । झापाका मुख्य राजमार्ग र अधिक यात्रुहरु हिड्ने साना सडकमा यातायात संचालन हुन थाले पछि घर फर्कनेहरु समेत बढेका छन् । अस्थायीरुपमा सडक संजाल जोडिएको स्थानमा दशैं पछि दिगो तवरबाट निर्माण कार्य थालिने कार्यालयले जानकारी दिएको छ ।

यूवाको पहलमा विरीङ पुल संचालन

दक्षिणी झापाको मेरुदण्डको रुपमा हेरिएको हुलाकी मार्गमा पर्ने विरीङ खोलाको पुलमा क्षति आएसँगै आवातजावात ठप्प बन्यो । तर स्थानीय युवा तथा जनप्रतिनिधिको श्रम र सहयोगबाट अस्थायी पुल संचालमा ल्याए पछि चाडबाडमा यात्रुलाई सहज भएको छ । १२ बर्ष पछि बल्ल संचालनमा आएको हुलाकी सडकको विरीङ पुलको एप्रोच सडक बगाउँदा आवातजावत रोकियो । झापा गाउँपालिका वडा नं. ५ का अध्यक्ष कृष्ण राजवंशी पुल निर्माणका लागि माथिल्लो निकाय तिर धाउन थाल्नु भयो । तर चाडबाडले छोप्न लागे पछि तत्काल पुल संचालनका लागि कुनै उपाय नपाए पछि श्रम र सहयोगबाट आफै निर्माण गर्न सफल हुनु भयो ।


सरकारी निकाय प्रकृयाबाट तत्काल पुल संचालन ल्याउन नसक्ने अवस्थामा निर्माण व्यवसायी शेरबहादुर थापाले आवश्यक फलाम र अन्य सामाग्री सहयोग गर्नु भयो । स्थानीय युवाहरुको सहयोगमा निर्माण थालेको ४ दिनमा रातारात काम गरेर पुल संचालनमा ल्याउन सफल भएको उहाँले बताउनु भयो ।


दैनिक हजारौंको संख्यामा ओहोर दोहोर गर्ने हुलाकी सडकको विरिङ पुलको सडक बगाउँदा दक्षिणी झापाका मानिसलाई जिल्लाको सदरमुकाम जाँदा समेत ४० किलो मिटर घुम्नु पर्ने बाध्यता थियो । तर यूवाहरुको पहलमा अस्थायी रुपमा निर्माण भएको पुलले तत्काल ठूलो राहत पुगेको यात्रुहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका ७१ स्थानीय तह विवरण सार्वजनिक (सूची सहित) 
Next post चाडबाड नआएकै राम्रोः दशैंले दुःखाउँछ भूटानी शरणार्थीलाई