भूटानकाे जेलमा थुनिएका राजबन्दीलाई रिहा गर्न ह्युमन राइट्स वाचकाे अपील (शरणार्थी शिविरकाे फाेटाे सहित)

३० फाल्गुण २०७९, सारासन्देश समाचार– ३ दशक लामाे समय देखि भूटानका जेलमा रहेका नेपाली भाषाी भूटानीलाई जेल मुक्त गर्न अपील गरिएकाे छ । विश्वभरका मुलुकमा विद्यमान मानवअधिकार स्थितिको रिपोर्ट र मूल्यांकन गर्ने न्यूयोर्कस्थित अन्तर्राष्ट्रिय निकाय ह्युमन राइट्स वाचले गैरन्यायिक पद्धति र अभियोगमा वर्षौंदेखि भुटानका कारागारमा रहेका दर्जनौं राजबन्दीको तत्काल रिहाइका लागि अपिल गरेको हाे । भुटान केन्द्रित यो वर्षको प्रतिवेदनमा आधारहीन अभियोगका भरमा आजीवन कारावास बेहोरिरहेका नेपालीभाषीसहितका राजबन्दीलाई आममाफी दिन र बिनासर्त रिहा गर्न वाचले भुटानका राजा जिग्मे केशर नाम्ग्याल वाङचुकलाई अनुरोध गरेको छ । सन् १९९० देखि २०१० भित्र पक्राउ गरिएका र थुनामा राखिएका ३७ राजबन्दीको नाम ह्युमन राइट वाचले सार्वजनिक गरेको छ ।

भुटानले सार्वजनिक रुपमा व्यक्त गर्ने गरेको ‘ग्रस नेसनल ह्यापिनेस’ (खुसी राष्ट्रको सूचांक)सँग भुटानले गलत नियतले वर्षौंदेखि थुनामा राखेका राजबन्दीको यथास्थिति मिल्दो नदेखिएकाे आज मंगलबार जारी विज्ञप्तिमा वाचकी दक्षिण एशियाली निर्देशक मिनाक्षी गांगुलीले उल्लेख्य गर्नु भएकाे छ ।

वाचले ३७ जना राजबन्दीकाे नाम सार्वजनिक गरेकाे भए पनि पछिल्लाे समय पक्राउ परेका नेपाली भाषीकाे अवस्था कस्ताे छ भन्ने कुरा थाहा हुन नसकेकाे भूटानी शरणाार्थी शिविरका अगुवाहरूले बताउँदै आएका छन् । पारिवारिक विखण्डनमा परेका भूटानीहरूकाे सवै भन्दा ठूलाे समस्याकाे रूपमा जेल जीवन व्यथित गर्दै आएका परिवारकाे भने समस्या रहेकाे छ ।

अनाहकमै लामो समयदेखि थुनामा रहेका राजबन्दी र तिनको परिवारको पहिचान गर्न र यो समस्याको समाधान गर्न वाचले आग्रह गरेकाे छ । यसले गर्दा विश्वकाे ध्यान भूटानमा जालाकी भन्ने आशा पलाएकाे स्वदेश फिर्तीका लागि लामाे समय देखि कार्य गर्दै आएकाे भूटान स्वतन्त्र जनमञ्चका महासचिव धनवीर सुब्बाले जानकारी दिनु भएकाे छ । शरणार्थी शिविरका अगुवाका अनुसार भूटानकाे प्रजातन्त्र समेत देखावटी मात्र भएकाे बताएका छन् । अझै पनि आफन्त भेट्न जान सक्ने अवस्था नरहेकाे वेलडाँगीका बृद्ध धनमान गुरूङले बताउनु भयाे ।

वाचले थुनामा राखिएका राजबन्दीलाई आफ्ना परिवारसँग सम्पर्कमा आउन नदिइएको र थुनामा रहेकाहरु शारीरिक र मानसिक स्वास्थ्यको कठीनाइबाट गुज्रिरहेको उल्लेख गरेकाे छ । भुटानी राजा, राष्ट्र र जनताकाविरुद्ध गतिविधि गरेको अभियोगसहित भुटानको राष्टिय सुरक्षा नीति (१९९२)का आधारमा आफ्नै नागरिकलाई थुनामा राखिएको भूटान सरकारको जिकिर रहिआएको छ । थुनामा रहेका राजबन्दीलाई १५ वर्षदेखि ४३ वर्षसम्मको कारागार सजाय तोकिएको छ भने धेरैका हकमा निश्चित अवधि उल्लेख नगरी आजीवन कारावास भनिएको छ ।

थुनामा राखिएकामध्ये दक्षिणी भुटानका ३२ जना ल्होत्साम्पा (नेपालीभाषी) र अन्य ड्रुक नेसनल कंग्रेस (भुटानमा प्रतिबिन्धित दल)का सदस्य रहेको जनाइएको छ । यीमध्ये २५ जना भुटानको केन्द्रीय कारागार चेम्गाङमा रहेका छन् । बाहिरी विश्वसामु ‘सुखीखुसी राष्ट्रको छवि’ देखाउँदै भुटानले आफ्नै नागरिकलाई कानुनी सुनुवाइ बिनाको कारागारमा राख्दै आएकोबारे नेदरल्याण्डको हेगस्थित राजबन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानले लामो समयदेखि आवाज उठाउँदै आएको छ । पछिल्लाे समय बेलडाँगीबाट लाेकनाथ आचार्यकाे गिरफ्तार गरिएकाे परिवारले बताएका छन् । तर बुवा आमा रेखदेख गर्नेलाई नै पक्राउ गरेकाले आचार्य परिवारमा ठूलाे विपत आएकाे उहाँकाे अन्य परिवारका सदस्यले मृत्युबरण समेत भाेग्नु परेकाे पूर्व शिविर सचिवहरूकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकको १२ औं नगरसभाः आर्थिक तरलताले बजेट कटौती
Next post बगान मासिए पछि रोजगार गुम्दा चिया श्रमिक समस्यामा (फाेटाे फिचर)