भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १५७ पुग्याेः भूकम्पपीडितलाई एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय (फाेटाे फिचर)
१८ कार्तिक २०८०, सारासन्देश समाचार– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी १ सय ९७ जना घाइते भएका छन् । नेपाल प्रहरी प्रधान कार्यलयले दिएकाे जानकारी अनुसार भूकम्पका कारण जाजरकोटमा १ सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
यसैगरी भूकम्पबाट जाजरकोटमा १ सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
गए राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
यसैबीच जाजरकोटको भूकम्पका पीडितहरुलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरुप कर्णाली प्रदेश सरकारलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको दाङको तुल्सीपुरमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु गएको कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट पीडितका लागि राहत आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको हो । शुक्रबार बिहानै लुम्बिनीका मुख्यमन्त्री चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग छलफल गरी दाङका मेडिकल सुपरिटेन्डेट डा. पदमराज अधिकारीको नेतृत्वका २० जना स्वास्थ्यकर्मी र औषधि सहितको टोली जाजगरको र रुकुमका लागि पठाएका छन् ।
लुम्बिनीको गृहमन्त्री सन्तोषकुमार पाण्ड्येको नेतृत्वका स्वास्थ्यकर्मी र औषधि सामग्री सहितको टोली भूकम्पग्रस्त क्षेत्रमा पठाई सहयोग र समन्यव गर्ने बैठकले निर्णय गरेको छ । साथै लुम्बिनी प्रदेश सरकारको तर्फबाट तत्कालीन चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधोपचार, सामग्री, खाद्य तथा गैरखाद्य सामग्री उपलब्ध गराई विपदको आपतकालीन अवस्थामा सहयोग गर्ने र यस कार्यमा प्रदेशका सम्बद्ध निकाय मुख्यमन्त्री मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा परिचालन गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव सुमन घिमिरेले जानकारी दिनुभयाे ।