श्रमबाट सिंगारिँदै ऐतिहासिक चिल्लागढ धामः कार्तिक २५ गते किराँत धर्मगुरुको उपस्थितिमा भव्य कार्यक्रम गरिने (फाेटाे फिचर)

१७ कार्तिक २०८०/डिकेश लामा

महाभारतकालिन ऐतिहारिक महत्व बोकेको धार्मिक क्षेत्र चिल्लागढ धामलाई श्रमबाट सिंगार्ने कार्य थालिएको छ । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ मा पर्ने चिल्लागढमा किराँत धर्मका महागुरु राष्ट्रिय विभुती फाल्गुनन्दको शालिक अनावरण, मन्दिर उद्घाटन र किराँती संस्कारका कार्यक्रम गर्नका लागि श्रमबाटै गढ क्षेत्र सिंगार्ने कार्य थालिएको हो । चिल्लागढ अर्थात चराहरुको गढ । आदिबासीहरुले बोलिने भाषामा चरालाई चिल्ला भन्ने गरिन्छ । आदिमकालमा घना जंगल भएको वेला चराहरुको बाक्लो बसोवास भएकाले यसलाई चिल्लागढ नाम राखिएको हो । यस्तै महाभारतकालमा पाण्डवहरुले बनबास बसेको स्थान भन्ने किबदन्ती पनि रहेको धामका उपाध्यक्ष किरण लिम्बु लिङदेनले बताउनु भयो । लिम्बुका अनुसार १ लाख ८ हजार ८ सय ८ वटा दियो बत्ती बालिने छ । सो अवसरमा धर्मगुरुबाट महादिप समेत प्रज्ज्वलन गरिने छ ।

ओझेलमा परेको ऐतिहासिक स्थानले यो बर्ष धेरैलाई चिनाउने अवसर दिलाउँदै छ । आगामी २२ गते देखि २५ गतेसम्म हुने किराँत धर्म महागुरु फाल्गुनन्दको शालिक अनावरण, मन्दिर उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन धर्मगुरु आत्मानन्द लिङदेन सहित सरकारको उच्च नेतृत्व समेतको सहभागिता हुने कार्याक्रमले धेरैलाई चिनाउन सहयोग पुग्ने चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापोले बताउनु भयो । तुम्बापोका अनुसार अघिल्लो बर्ष शिवरात्रीमा गरेको कार्यक्रमले पनि चिल्लागढ चिनाउने काममा टेवा पुगेको थियो । यस बर्षको यो भव्य कार्याक्रमले थप टेवा दिने उहाँले बताउनु भयो ।

महागुरु फाल्गुनन्दको १३९ औं जन्म जयन्तीको अवसरमा यस बर्ष नेपाल लगायत विभिन्न देशबाट समेत किरात धर्मावलम्वीहरुको भेला चिल्लागढ धाममा हुने छ । किराँती मुन्धुमका पूजापाठ देखि विश्व शान्तिको पुजा गर्दै गरिने ३ दिने कार्यक्रमका लागि श्रमबाट सरसफाई र धाम सिंगार्ने कार्य थालिएको हो ।

संघीयता कार्यान्वयनसँगै तीनै तहका सरकारले धाम क्षेत्रमा भौतिक पूर्वाधार र सडक निर्माणको काम गर्दै आएको छ । यस बर्ष उच्च नेतृत्व र धार्मिक गुरु सहितको उपस्थितिमा गरिने कार्यक्रमले यस क्षेत्रको विकासमा थप टेवा पुग्ने स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आगलागीबाट दमककाे दुम्सेमा घर सम्पति जलेर नष्ट (फाेटाे फिचर)
Next post भूकम्पमा परी ज्यान गुमाउनेकाे संख्या १५७ पुग्याेः भूकम्पपीडितलाई एक करोड ५० लाख आर्थिक सहयोग गर्ने लुम्बिनी सरकारको निर्णय (फाेटाे फिचर)