पूर्व गृहमन्त्री खाँण थुनामुक्तः अदालत र अख्तियार गरी ४५ लाख धराैटी बुझाइयाे
२९ मंसीर २०८०, काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहनु भएका पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त हुनु भएको छ । उच्च अदालत पाटनको आदेश अनुसार खाँणाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बुझाउनु भएको थियो । त्यसपछि उहाँलाई सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको थियो ।
सम्पत्ति शुद्धिकरण विभागमा पनि १५ लाख धरौटी बुझाउनु भएका खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै पूर्व गृहमन्त्री खाँण ७ महिनापछि थुनामुक्त हुनु भएको हो । थुनामुक्त भएसँगै नेता खाँण अहिले निजी निवास काठमाडौंँ चावहिलमा पुग्नु भएको नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका नेता दीपेन्द्र पोखरेलले नेपालटिभी अनलाइनलाई जानकारी दिनुभयो । खाँण थुनामुक्त भएसँगै उहाँलाई भेटन नेता कार्यकर्ताहरु निजी निवास चावहिल पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको काठमाडौँको आदेश अनुसार पुर्पक्षका लागि थुनामा रहनु भएका खाँणलाई उच्च अदालत पाटनले विहीबार ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
खाँणलाई धरौटीमा रिहा गर्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने विषयमा गत १५ पुसमा उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको राय बाझिएको थियो । पाण्डेले धरौटीमा छाड्न हुने र खरेलले छाड्न नसकिने राय दिनुभएको थियो ।
त्यसपछि मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको तेश्रो एकल इजलासमा पुगेको हो । कोइरालाको इजलासले बिहीबार खाँणलाई धरौटीमा छाड्ने राय दिएसँग खाँणले आज जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाउनु भएको थियो । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
यस्तै जिल्ला अदालत काठमाडौँमा धरौटी बुझाएर रिहाई हुनुभएका खाँणलाई सम्पत्ति शुद्धिकरण विभागबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगिएको छ ।
जिल्ला अदालतमा ३० लाख धरौटी बुझाएसँगै खाँणलाई सम्पत्ति शुद्धिकरण विभागमा लगिएको थियो । खाँणले सम्पत्ति सुद्धिकरणमा पनि १५ लाख धरौटी बुझाउनुभएको थियो । तर फेरि उहाँ विरुद्ध अख्तियारमा पनि मुद्दा रहेकोले अहिले अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगिएको छ । यी निकायले खाँडको सम्पत्ति छानबिन गरिरहेकाले आवश्यक ठानेमा धरौटीमा र आफ्नो हिरासतमा राख्न सक्ने छन् ।