राष्ट्रियसभा सदस्यकाे पदमा १८ गठबन्धन र १ एमाले सिटमा एमाले विजयी (मतभार सहित)

११ माघ २०८०, सारासन्देश समाचार– राष्ट्रियसभा सदस्यकाे १९ जनाकाे पदमा भएकाे मतदानमा १८ सिटमा गठबन्धन र १ सिटमा एमाले विजयी बनेका छन् । १९ जनाकाे सिटमा ५१ जनाले उम्मेद्वारले प्रतिष्पर्धा गरेका थिए ।

कोशी प्रदेश

कोशी प्रदेशमा गठबन्धन दलको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । गठबन्धबाट उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभएको हो ।

प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५ हजार २ सय ९२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी राप्रपाका उद्धव पौडेलले ४ हजार ५ सय ६२ मत प्राप्त गर्नुभयो । नेकपा एमालेका उम्मेदवार पर्शुराम अधिकारीले १ सय ४८ मत प्राप्त गर्नुभएको छ । नेता सिटौलाले कुल ९३ जना प्रदेश सभा सदस्य मध्ये ४५ जनाको मत प्राप्त गर्नुभयो भने पौडेलले ४७ जनाको मत प्राप्त गर्नुभयो । एक मत भने बदर भएको छ ।

यसैगरी नेकपा एमालेकी उम्मेदवार रुक्मिणी कोइराला निर्वाचित हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी कोइरालाले गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै जित निकाल्नुभएको हो । प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्दा कार्कीले ४ हजार ९ सय ९२ मत मात्र प्राप्त गर्नुभयो । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो ।

मधेस प्रदेश

यता मधेश प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिनुभएका (खुला) बाट आनन्दप्रसाद ढुङ्गाना र महिलातर्फबाट पूजा चौधरी निर्वाचित हुनुभएको हो । ढुङ्गानाले ७ हजार ३ सय ७० मतभार र चौधरीले ७ हजार ९ सय २३ मतभार ल्याएर विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले बताउनुभयो । उहाँका अनुसार अन्य समूहबाट नेकपा एमालेका विजेता चौधरीले २ हजार ४ सय ८४ र जनमत पार्टीका रामाशङ्कर महासेठले ८ सय १८ मतभार प्राप्त गर्नुभएको छ । यसैगरी महिलातर्फ चौधरीको निकटतम प्रतिद्वन्द्वी एमालेका उषादेवी थरुनीले २ हजार ४४६ मतभार प्राप्त गर्नुभएको छ ।

यता बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सत्तागठबन्धनका उम्मेदवार कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी हुनुभयो । उहाँले ६ हजार ६ सय २२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)की उम्मेदवार रोचकुमारी चौलागाईंले २ हजार ५ सय ५२ मतभार प्राप्त गर्नुभयो । दलिततर्फ नेकपा (एकीकृत समाजवादी)का धनश्याम रिजाल विश्वकर्मा विजयी हुनुभयो । उहाँले ६ हजार ५ सय १२ मतभारत प्राप्त गर्दा नेकपा (एमाले)का ध्रुवराज विश्वकर्माले ३ हजार ५३ मतभारत प्राप्त गर्नुभयो । अन्यतर्फ कांग्रेसका जितजङ्ग बस्नेतले ६ हजार ५ सय ३१ मतभारत प्राप्त गरी विजयी हुँदा गर्दा नेकपा (एमाले)का त्रिलोचन निर्मल पौडेलले २ हजार ३ सय ५९ मतभार प्राप्त गर्नुभयो । साथै अपाङ्गतातर्फ नेकपा (माओवादी केन्द्र)का श्रीकृष्ण अधिकारीले ६ हजार ४ सय ३६ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार प्राप्त गर्नुभयो ।

गण्डकी प्रदेश

यता राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट गठबन्धनका तीन जना उमेद्वार विजयी हुनुभएको छ । विजयी हुनुहुनेहरुमा नेपाली नकाँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा हुनुहुन्छ ।

लुम्बिनी प्रदेश

यस्तै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरु विजयी हुनु भएको छ । आज सम्मन्न निर्वाचनको मतपरिणाम अनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य क्लस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी हुनु भएको हाम्रा संवाददाता जनक नेपालीले जानकारी दिनु भएकाे छ ।

कर्णाली प्रदेश

यसैगरी कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका सबै उम्मेदवारहरु विजयी हुनुभएको छ । गठबन्धनबाट नेपाली काङ्ग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश

यसैगरी सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित हुनुभएको छ ।  महिला तर्फ माओवादी केन्द्रकी रेनु चन्द विजयी  हुनुभएको छ ।  चन्दले  ४ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, अपाङ्गतर्फ नेपाली काँग्रेसका नारायणदत्त भट्ट निर्वाचित हुनुभएको छ । उहाँले  ४ हजार ४१९ मत पाउनु भएको छ ।  त्यस्तै अन्यतर्फ काँग्रेसकै बलदेव बोहरा विजयी हुनभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गौरादह भित्र अनुदानमा तोरीको मुल विऊ उत्पादनमा प्राथमिकता
Next post अफगानिस्तानले दियो नेपाललाई १४६ रनको लक्ष्यः अन्तिम ६ मा पुग्न नेपाललाई दबाव