झापाली पत्रकार सापकोटाको ‘आमसञ्चार र समावेशी पत्रकारिता’ नामक पुस्तक सार्वजनिक

१२ माघ २०८०, काठमाण्डाैं– नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारामणी सापकोटाकाे ‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तक सार्वजनिक भएकाे छ । सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थता समेटिएको पुस्तक  विहिबार काठमाण्डौमा एक कार्यक्रमका बीच राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा.रामकृष्ण तिमिल्सिना र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा विमोचन गर्नु भएकाे छ ।


पुस्तकले समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत सङ्घसङ्गठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्याङ्कीय विश्लेषण प्रस्तुत गरिएको बताइएकाे छ ।
पुस्तक सार्वजनिकका क्रममा समावेशी आयोगका अध्यक्ष तिमिल्सिनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिनु भएकाे छ । समावेशीता सामुदायिक प्रतिनिधित्व मात्रै नभई समुदायभित्रका भौगोलिक र वैचारिक प्रतिनिधित्व पनि भएको भन्दै उहाँले भन्नु भयाे, “विविधतायुक्त समावेशीतालाई अगाडि बढाउनुपर्छ, यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति आवश्यक छ” ।
आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले नीति निर्माण र कार्यान्वयन तहमा समावेशीकरण नहुँदा त्यसको प्रभाव राज्यका सबै निकाय र सञ्चार माध्यममा पनि परेको बताउनु भयाे । समावेशी लोकतन्त्रको पाटो उल्टो बाटोमा जान लागेको महसुस भइरहेकाले लोकतन्त्रको समावेशीकरणमा सबै पक्ष गम्भीर हुनुपर्ने उहाँले बताउनु भयाे ।


पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपाली समाज विविधतायुक्त भए पनि सञ्चारमाध्यममा विविधता पाउन नसकिएको यथार्थ पुस्तकले दर्शाएको बताउनु भयाे । “सञ्चार माध्यमले समाजको चित्र ग्रहण गर्न सकेका छैनन्” उहाँले मिडिया सबल नहुँदा लोकतन्त्र नै सुदृढ हुन नसकेको विषयलाई पुस्तकमा प्रष्टसँग देखाइएको बताउनु भयाे ।
टिप्पणीकार एवं सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले सङ्घर्ष जारी राख्नुपर्ने अवस्था तथा नेपालको इतिहास, वर्तमान र भविष्यलाई पुस्तकले मार्गदर्शन गरेको बताउनु भयाे । त्यस्तै, अर्का टिप्पणीकार एवं पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले मिडियाको विषयवस्तु कुनै एक जातिको वरपर घुमेको, समाचार कक्ष तथा सञ्चार संस्था समावेशी हुन सकेका छैनन् भन्ने तथ्य पुस्तकले देखाएको बताए ।
पुस्तकका लेखक सापकोटाले पुस्तकमा सञ्चार माध्यम, सञ्चार संस्था, पत्रकारका पेसागत सङ्घसङ्गठन, संवैधानिक तथा कानुनी आयोग, सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएका सामग्री, सञ्चारमाध्यममा सहभागिताको अवस्थाको परिमाणात्मक विधिबाट अध्ययन गरिएको जानकारी दिनु भयाे । पत्रकारितामा उच्च शिक्षा हासिल गर्नु भएका झापाली पत्रकार सापकाेटाले ३ बर्ष लामाे मेहनेत पछि पुस्तक सार्वजनिक गर्न सफल भएकाे बताउनु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अफगानिस्तानले दियो नेपाललाई १४६ रनको लक्ष्यः अन्तिम ६ मा पुग्न नेपाललाई दबाव
Next post मह प्रशोधन उद्योगले महिलालाई रोजगारीः शिवसताक्षीमा ३ सय घर परिवार व्यवसायिकरुपमा मौरी पालनमा जुट्दै