कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमतिः पूर्ननामकरणमा पहल थालिने
२६ माघ २०८०, विराटनगर– कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज दोस्रो दिनको वार्तामा पाँच बुँदे सहमति भएको पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो ।
सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने उल्लेख छ । पाँच बुँदे सहमतिसँगै काेशी प्रदेशकाे पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ ।
त्यसैगरी आन्दोलनरत पक्षबाट पहिचानसहितको प्रदेश नं. १ को पुन नामांकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्दवहादुर आङवुहाङ, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवस राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान प्रान्तीय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक, नेकपा एस लिम्बु संघ समाजवादीका उपाध्यक्ष पदम लिम्बु, नेकपा माओवादी सम्बद्ध किरात राष्ट्रिय मुक्ति मोर्चाका महासचिव अर्जुन जम्नेली राई, जसपा–लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष जेन्टल लावती, राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव पदम जबेगु र नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्रकुमार चौधरी सहित हिजाे शुक्रबार बसेकाे वार्ताले सहमति भएकाे पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।
गत फागुन १७ गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षधर पुनः नामकरणको माग राख्दै आन्दोलनरत छन् ।