बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने झापाको विरिङ्ग खोलामा बर्षौं पछि पुल निर्माणले सहज (फाेटाे फिचर)

१० फाल्गुण २०८०/डिकेश लामा

निर्माण थालेको १२ बर्ष पछि झापाको विरीङ्ग पुल निर्माण भए पछि यात्रुहरुलाई सहज भएको छ । पुल निर्माणले डुङ्गामा जोखिम यात्राको अन्त्यसँगै सो दक्षिणी झापाको बजारमा चहल पहल समेत बढ्न थालेको छ । देशकै सवै भन्दा जेठो हुलाकी सडकमा बर्षौं पछि पुल निर्माण हुँदा दक्षिणी झापामा आवातजावात बृद्धि भएको छ । कहिले पुल बन्छ भन्ने स्थानीयको सपना अव भने पुरा भएको छ । पुल नहुँदा सँधै जोखिम यात्रा गर्नु पर्ने बाध्यता बल्ल समाप्त भएको भन्दै स्थानीय बासिन्दा खुशी बनेका छन् । स्थानीय बासिन्दा हंस नारायण गणेशका अनुसार १२ बर्ष पछि बनेको पुलले सदरमुकाम जान देखि जिल्लाको ठूलो बजार विर्तामोड जान समेत धेरै सहज भएको छ । पुल नहुँदा ४५ किलो मिटर बाटो घुम्नु पर्ने बाध्यता र बर्खामा डुङ्गा चढ्नु पर्ने अवस्था सँधैका लागि समाप्त भएको बताउनु भयो ।

विरीङ्ग खोलाले झापाको बाह्रदशी र झापा गाउँपालिकालाई छुट्याएको छ । नजिकै रहेका जिल्लाको पुरानो झापा बजार र राजगढ बजारसम्म पुग्न समस्या हुन्थ्यो । पुल बने पछि यात्रु देखि अहिले विरामीलाई समेत धेरै सुविधा भएको स्थानीय अगुवा मन्जु सुब्बाले बताउनु भयो । सुब्बा अनुसार अहिले पुल बने पछि विरामी बोक्ने एम्बुलेन्स पनि दक्षिणी झापाको बाटो भएर भद्रपुरमा रहेको प्रादेशिक अस्पताल लाने ल्याउने गरिएको छ ।

२०६८ साल जेठ १३ गते लामा मैनाचुली जेभीले १५ करोड ५० लाखमा निर्माणको ठेक्का लिएको विरीङ पुल हालै आएर पूर्णरुपमा निर्माण सकिएको छ । पुल निर्माण र हुलाकी सडकले दक्षिणी झापाको बजारको अवस्था समेत फेरिएको छ ।

झापा र बाह्रदशी गाउँपालिकाबीचमा रहेको विरीङ्ग खोलाको पुल निर्माणले जोखिम र सास्ती मात्रै समाप्त भएको छैन । यसले दक्षिणी झापाका बजार क्षेत्रमा चहल पहल समेत बढ्न थालेको छ । झापाको झापा बजार पहिले सानो टिनका छाना भएका घरहरु अहिले ठूल्ठुला महल र सिमेन्टका घरहरु बन्न थालेको बजारका पुराना बासिन्दा समिरुदिन मियाले बताउनु भयो । उहाँका अनुसार बजार क्षेत्रमा कारोवार समेत बढ्न थालेको छ । निर्माण थालेको पुल १२ बर्ष पछि बने पनि यसले दशकौं देखिको सास्ती र समस्या अन्त्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post काठमाण्डाैंमा ३ जना सामुहिक हत्यासँगै आत्महत्या
Next post झापामा एक यूवाले गरे नमूखा केरा खेती बार्षिक ढेड करोड बढीको कारोवार(फाेटाे फिचर)