
एसइईको नतिजा भाेलि सार्वजनिक हुने
१२ असार २०८१, काठमाण्डाैं– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भाेलि बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक बताउनुभयो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उहाँले जानकारी दिनुभयो ।

गतचैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालित परीक्षामा नियमिततर्फ ४ लाख ६७ हजार विद्यार्थीले परीक्षा दिएका छन् । ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।