नयाँ सत्ता समीकरणले सरकार परिवर्तन हुँदैः भाेलि नै राजिनामा दिन एमालेकाे प्रचण्डलाई आग्रह

१८ असार २०८१, काठमाडौं– केही दिन यतादेखि तरङ्गित सत्ता राजनीतिले कोल्टे फेरेसँगै वर्तमान सरकार सङ्कटमा परेको छ भने नयाँ सत्ता समीकरणको आधार तयार भएको छ ।

संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका छन् । कांग्रेस-एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

केही दिन यतादेखि कांग्रेस-एमालेका शीर्ष दुई नेताबीच सत्ता साझेदारीका विषयमा छलफल भैरहेको भनी गरिएका विश्लेषणहरु अन्ततः सत्य सावित भएका छन् ।

कांग्रेस-एमालेका दोस्रो तहका नेताहरूबीच संवाद भैरहेको चर्चाकाबीच पछिल्लो समय सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच बाक्लिएको भेटवार्ताले सोमबार मध्यराति मूर्तरुप पाएको छ । नयाँ सत्ता समीकरणसहितको सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले राति नै हस्ताक्षर गर्नुभएको छ ।प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।

यसैबीच नेकपा एमालेले भोलि (बुधबार)सम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ । आज बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएकाे सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आह्वान गर्ने निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभएको छ।

तर एमालले आफ्ना तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई भने फिर्ता बोलाउने निर्णय गरेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद ५ लाख रूपयाँ जरिवाना हुने फैसला
Next post झापामा कृषि कार्यको अनुगमन