हिमताल फुटेर थामेमा बाढी आएको पुष्टिः नाम्चेभन्दा माथिआवातजावत ठप्प

१ भदाै २०८१, साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ । रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीहरुको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेर बाढी आएको बताइएकाे छ ।

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ । अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको र एउटा हिमताल भने सुरक्षित रहेकाे देखिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनु भयाे ।

बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ । शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ ।


प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा एक सय मिटर जति पदमार्ग नदीको कटानमा परेको बताइएकाे छ । जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवातजावत अवरुद्ध भएको छ । सगरमाथा पदमार्गमा पर्ने एकमात्र पदमार्ग भोटेकोसीले कटान गर्दा पदमार्ग अवरुद्ध भएको उहाँले बताउनुभयो । थामे खोला हुँदै आएको लेदोसहितको बाढी भोटेकोसी हुँदै दूधकोसी नदीमा मिसिएको छ । बाढीले खुम्बुको स्थानीय जलविद्युत् आयोजनाको ड्याम बगाउँदा सो क्षेत्रमा सञ्चार सेवासमेत ठप्प बनेको स्थानीय ल्हाक्पा नुरु शेर्पाले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पथरी शिविरमा उदघोषण तालिम सम्पन्न
Next post रुखले गर्दा मदन भण्डारी सडक निर्माणमा अवरोधः १७ हजार बढी रुख हटाउनु पर्ने