साउन महिनामा मात्र ४ अर्ब बढी मुल्यकाे विधुत भारत निर्यात

११ भाद्र २०८१, काठमाडौँ–  चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनामा मात्र ४ अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

साउनमा दैनिक रूपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो । भारतसँगको विद्युत् व्यापार  ९ रूपयाँ भारतीय मुद्रामा विक्री हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट २ अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आठ वर्ष अघिसम्म वर्षा याममा दैनिक ८/९ घण्टा र सुख्खा याममा १८ घण्टासम्मको लोडसेडिङ बेहोर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षा यामका महिनाहरूमा  देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरे तापनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नु पर्ने अवस्था नरहेको उल्लेख गर्नुभयो ।

गत आ.व.मा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरूबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । केही दिनअघि द्विपक्षीय सम्झौता बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको थियो ।  यसमध्ये एनभिभिएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५।८९ मेगावाट बिक्री गरिने छ । हाल दुई आयोजनाहरूबाट उत्पादित १०९।६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ ।
१० जलविद्युत आयोजनाबाट उत्पादित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौता बमोजिम पिटिसि, भारतमार्फत बिहार राज्यमा निर्यात हुने छ । बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिने छ ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०।८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आइएक्समा बिक्री भइरहेको छ । केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भई नसकेकाले हाल आइएक्स र हरियाणालाई गरी दैनिक रूपमा ६९०।५० मेगावाट विद्युत् निर्यात भइरहेको छ । स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ । त्यसैले हाल दैनिक रूपमा ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post उत्पादन घटेसँगै अलैंचीको मुल्य दोब्बरले बृद्धिः प्रति मन १ लाख पुग्यो
Next post स्वदेशी बस्तुको प्रयोगबाट पूजा सामाग्री उत्पादनमा यूवाहरु सक्रीय बन्दै (फाेटाे फिचर)