नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ
८ मंसीर २०८१/झापा
थर तथा गोत्रको वंशावली इतिहास अव डिजिटल एपमा हेर्न पाइने भएको छ । झापाको दमकमा रहेको भट्टराई कुल बंश प्रतिष्ठानले आज प्रतिष्ठानको ३२ औं स्थापना दिवशको अवसरमा बंशावली डिजिटल एपको शुभारम्भ गरेको छ । २०२४ साल मै बंशावली पुस्तिका सार्वजनिक गरी संशोधित संस्करण प्रकाशन गर्दै आएको संस्थाले अव विश्व भरी रहेका भट्टराईको कुलपूजा र साँस्कृतिक विविधतामा एकता ल्याउने प्रयास नेपालमै पहिलो पटक सफ्टवयर एप्पिकेशन मार्फत थालिने प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद भट्टराईले दावी गर्नु भयो । भट्टराईका अनुसार आज सार्वजनिक गरिएको सफ्टवयर ४ लाख रुपयाँ खर्च गरेर मेटालोजिक सफ्टवयर कम्पनिले निर्माण गरेको हो । कम्पनिका प्रमुख इन्जिनियर आषिश थापा गोदारका अनुसार यो खालको वंशावलीको सफ्टवयर नेपालमै पहिलो पटक निर्माण गरिएको हो । यो सफ्टवयरले वंशावली मात्रै नभएर सफ्टवयरमा जोडिएकाबीच सामाजिक संजालकै काम गर्ने बताउनु भयो ।
नेपालभर छरिएर रहेका भट्टराईका कुल वंश पूजा स्थल दमक वडा नं. ४ मा रहेको छ । झण्डै साढे ५ विगाह क्षेत्रफलमा ३२ बर्ष अघि स्थापना गरिएको वंश पूजा स्थल पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत विकास हुँदै गएको छ ।
सो क्षेत्रमा आज धार्मिक महत्वको रुद्राक्ष र वेलको विरुवा समेत रोप्ने कार्य भएको छ । यस्तै कार्याक्रममा नेपालका विभिन्न क्षेत्रबाट भट्टराई वंशावली विकासमा लामो समय काम गर्ने अगुवाहरुलाई सम्मान समेत गरिएको छ ।