चुरे खानेपानीमा करोडौंको लगानी खोलाको पानीमा बगेर खेर (फाेटाे फिचर)

४ मंसीर २०८१/डिकेश लामा
बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरेका बासिन्दालाई लक्षित गरी शुरु गरिएको खानेपानी योजना बन्द भएको छ । खोलामा सिफेज गरी लिफ्ट प्रणालीबाट ५ बर्ष देखि निर्माण थालिएको झण्डै ५ करोड बजेटको योजना बाढीका कारण पूर्णरुपमा ध्वस्त बनेको छ । शुरुमै झण्डै अढाइ करोड बजेटबाट निर्माण थालिएको थियो । योजनामा बजेट थप गरेर गत बर्ष बनाइएका खानेपानीका लागि संकलन ट्याङ्की देखि ट्याङ्क संरक्षणका लागि बनाइएको ड्याम्प समेत यो बर्ष पूर्णरुपमा क्षति भएको छ ।


इलामको चुरे क्षेत्रका बस्तीका बासिन्दालाई लक्षित गरी ५ बर्ष अघि मावा खोलाबाट लिफ्ट सिस्टमको खानेपानी संचालन थालिएको हो । बर्षेनी खानेपानीमा बाढीले क्षति गरे पनि बजेट थप्दै योजना संचालन गर्ने प्रयास बाढीले खानेपानी पूर्णरुपमा संचालन हुन नसक्ने गरी क्षति गरेको दमक वडा नं. ३ का बुद्धिमान तामाङले बताउनु भयो ।
तामाङका अनुसार यस बर्ष गरेको क्षति हेर्दा पुनः खानेपानी संचालन गर्न सकिने अवस्था नरहेको बताउनु भयो ।


बर्षौं पछि उच्च भूभागको बस्ती माथि डाँडामा पानीको ट्याङ्की बने पछि खानेपानीको समस्यामा रहेका बासिन्दामा पानी आउने आशा पलाएको थियो । तर पानी तान्न मावा खोलामा बनाइएको संरचना नै बगाए पछि पानी पाउने आशा नै मरेको चुलाचुली ५ का अगुवा अमृत राईले बताउनु भयो ।
राईका अनुसार मावा खोलाको पानी खुवाउने सरकारको योजनाको बजेट खेर गएको बताउनु भयो । इन्जिनियरले खोलाको वेग कति आउँछ भन्ने जानकारी नलिइ काम गरेकाले करोडौं रकम खोलाको पानीमा बगेर गएको बताउनु भयो ।


आर्थिक बर्ष २०७५/०७६ देखि शुरु गरिएको मावा खोला शिखरकटेरी लिफ्ट सिस्टमको खानेपानी योजना पाँचथर, इलाम हुँदै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन नम्बर ४ झापाले रेखदेख गर्दै आएको छ । खोलामा अवैध दोहनले गर्दा पनि खानेपानी तथा सिंचाईमा समस्या आएको झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले बताउनु भयो ।
बरालका अनुसार कतिपय स्थानमा लार्पावाही उत्खनन् भएका छन् । आफूहरुले देखेसम्म नियन्त्रण गर्ने प्रयास गरेको भए पनि ठेकेदारले चोरी निकासी गर्दा थप समस्या आएको उहाँले बताउनु भयो ।


झापा, इलाम र मोरङ्गको सिमाना नजिकै फुँइके भन्ने स्थानमा लिफ्टिङ खानेपानी प्रणाली ५ बर्ष अगाडि नै शुरु गरिएको हो । तर गएको बर्षाको बाढीले यो खानेपानीको धेरै पाइप र संचरनाहरु ध्वस्त बनाएको छ । यसले गर्दा सरकारको करौडौं रकम पानीमा बगेर गएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा हात्तीले पछारेर एक जनाकाे मृत्यु
Next post नेपालमा पहिलो पटक भट्टराई कुल वंशावली सफ्टवयर शुभारम्भ