
झापामा मात्र बसाेवास रहेकाे लोपोन्मुख कवर जाति समस्यामाः सूचिकृत गर्न माग
२९ माघ २०८१/डिकेश लामा
झापाको मेची नगरपालिकामा मात्र बसोवास रहेको कवर जाति सरकारको सूचिमा नपर्दा संवैधानिक अधिकारबाट बन्चित रहेका छन् । पुस्तौं देखिको थातथलो रहेको आदिवासी समूदायका सिमान्तकृत लोपोन्मुख थोरै संख्यामा रहेका कवर जातिको पहिचान हुन नसक्दा थप उत्पिडनमा परेका हुन् ।
तराईमा औलोको समस्यासँग लड्दै बसोवास गर्दै आएका कवर जाति संघीयता पछि पनि सूचिकृत हुन सकेका छैनन् । २०७८ सालको जनगणनामा १७ जाति थप सूचिकृत भइ १ सय ४२ जातजाति समावेश नहुँदा समस्या भएको कवर समाजका अगुवा सुना कवरले बताउनु भयो । कवरका अनुसार किसानसँग धेरै कुरा मिल्दो जुल्दो रहेका कवर सूचिकृत नहुँदा संवैधानिक अधिकारबाटै बञ्चित हुनु परेको उहाँले बताउनु भयो ।

दर्जन बढी गोत्र रहेको कवर जातिको बर्ण र भाषा झापामा मात्र बसोवास रहेको किसान जातिसँग मिल्दो जुल्दो रहेको छ । साद्री भाषा बोल्ने कवरसँग मिल्दो जुल्दो अर्को जाति रौतियाको पनि झापामा बसोवास रहेको छ । पुस्तौं देखि बसोवास गर्दै आएका यी जातिलाई सरकारले पहिचान दिन नसक्दा उच्च शिक्षा पढेर पनि समानुपातिक समावेशी कोटामा पर्न नसकेको समूदायका शिक्षित व्यक्तिहरुले दुखेसो पोखेका छन् । स्थानीय जिप्सिना कवरका अनुसार नेपालमा पनि कवर जातिको बसोवास छ भन्ने कुरा पहिचान दिलाउन जातजातिमा सूचिकृत अन्य लोपोन्मुख सिमान्तकृतलाई जस्तै अधिकार प्रदान गर्नु पर्ने माग गर्नु भयो ।
गुजाराका लागि धेरै जसो मेलापात गर्ने यी जातिहरुलाई राज्यले दिने भत्ता भन्दा पनि सूचिकृत गरी नेपालका जातजातिमा कवरको पनि नाम हुनु पर्ने अर्की शिक्षित महिला पिंकी कवरले बताउनु भयो ।

झण्डै साढे ३ सय जनसंख्या रहेको कवरको बसोवास किसान जातिको बसोवास क्षेत्र धुलावारी, इटाभट्टा र बर्नेमा बसोवास रहेको छ । उनीहरुलाई सामाजिक सुरक्षा भत्ता भन्दा पनि सरकारले पहिचान मात्र दिलाए शिर उच्च हुने सामाजिक अगुवाले बताएका छन् । कवर जातिको बसोवास रहेको मेचिनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रुद्रप्रसाद डाँगीका अनुसार नागरिकता दिने निकाय जिल्ला प्रसाशन कार्यलयले कवर जातिबारे बुझ्न नसक्दा कुँवर लेखेर विगार्ने र सच्याउने काम समेत गरिएको छ । स्थानीय सरकारले जातजाति सूचिकृत गर्ने अधिकार नभएकाले संघीय सरकारले सूचिकृत उनीहरुको हक र अधिकारलाई सुनिश्चित गरिनु पर्ने उहाँले बताउनु भयो ।
निम्न आय स्तर रहेको कवरहरु मेहनेती रहेका छन् । उनीहरु मध्ये धेरैले दैनिक रोजगारी गर्ने गर्दछन् । रोजगार गरेर गुजारा गर्दै आएका कवरमा पढे लेखेकाहरुले समेत समावेशी तथा समानुपातिक कोटामा पर्न नसकेको उहाँले बताउनु भयो ।
झापामा मात्र बसोवास गर्ने भनेर राज्यले सूचिकृत गरेको मेचे र किसान जातिले संघीयता आएको महसुश गर्न पाएका छन् । तर साद्री भाषा बोल्ने कवर सहित केही जातिहरु सूचिकृत हुन नसक्दा राज्यले दिएको अधिकारबाट नै बञ्चित हुनु परेको उनीहरुको भनाइ छ ।