
हुलाकी सडककाे रतुवा पुल संचालनमाः १६ बर्ष पछि पुलमा हिड्न पाउँदा खुशी

झापाको हुलाकी सडक अन्तर्गत रतुवा खोलाको पुल निर्माण थालेको १६ बर्ष पछि बल्ल संचालनमा आएको छ । २ बर्ष अघि पुनः नयाँ ठेक्का मार्फत दुवै तर्फ पुल थप गरेर हालै आएर पुल संचालनमा आए पछि दैनिक हजारौंको संख्यामा हिड्ने यात्रुहरु खुशी बनेका छन् ।
झापा र मोरङ्गको सिमाना पर्ने हुलाकी सडक अन्तर्गतको रतुवा खोलाको पुल आर्थिक बर्ष २०६४/०६५ मा कालिका ओसिए जेभीले १० करोड ३२ लाख ९१ हजार रुपयाँमा ठेक्का लिएर निर्माण थालेको हो । तर पुल खोला भन्दा छोटो भए पछि पुनः २२ करोडको ठेक्का मार्फत निर्माण गरी हालै आएर संचालनमा आएको छ । रतुवामाइ नगरपालिकामा शिक्षण गर्दै आउनु भएकी राधा राजवंशीका अनुसार पहिले नानी च्यापेर डुङाबाट हिड्नु पर्थ्याे तर अहिले धेरै सहज भएकाे छ ।

झापाको गौरीगंज गाउँपालिका र मोरङ्गको रतुवामाइ नगरपालिकाको सिमानामा रहेको रतुवा खोलामा पूर्वी तर्फ १ र पश्चिम तर्फ २ स्पान थप गरी ७५ मिटर पुलको लम्बाइ थप गरिएको छ । यसो गर्दा २ सय ७५ मिटर लम्बाई रहेको पुल संचालनमा आए पनि एप्रोच सडक र केही काम भने बाँकी नै छ । तर सो काम पनि म्याद अगावै सक्ने दोस्रो चरणको ठेक्का लिएर काम गर्दै आएको समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.का संचालक राजेश राउतले बताउनु भयो । राउतका अनुसार पुलकाे निर्माण सके पछि धेरैले धन्यवाद दिए । कतिले त फुलकाे माला समेत लगाउँछु भने तर के गर्नु काम गर्ने एउटा माला लगाउने नेता हुन्छन् ।
त्यसाे त याे पुल प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निर्वाचन क्षेत्रमा पर्दछ । उहाँ ४ पटक प्रधानमन्त्री बन्दा मात्र याे पुलले पुर्णता पाएकाे छ । २२ कराेड मुल्यमा दाेस्राे पटक लागेकाे ठेक्का अागामी असार १७ गते यसकाे म्याद सकिने छ । पुलकाे काम सकिए पनि पुलकाे एप्राेच सडकमा कालाे पत्रे र तारजालीकाे दक्षिणी भागकाे काम भने धमाधम हुँदै छ । ठेकेदार कम्पनिका संचालक राउतका अनुसार समयावधी भन्दा अगावै सक्ने दावी गर्नु भएकाे छ ।
२०६५ साल देखि बनाउन थालिएको पुल खोलाको क्षेत्र भन्दा सानो भए पछि संचालनमा आउन सकेको थिएन । तर हालै आएर पुल संचालनमा आएकाले दक्षिणी झापाका बजारमा समेत चहल पहल बढ्न थालेकाे गाैरीगंज गाउँपालिका वडा नं. ६ खजुरगाछी बजारका व्यवसायी लक्की ताजपुरियाले बताउनु भयाे ।
झण्डै ढेड दशक समय पछि झापा र मोरङ जोडिने रतुवा खोलाको पुल निर्माण सम्पन्न भएको छ । बर्षाैं पछि पुल बनेर सहज यात्रा गर्न पाउँदा दक्षिणी झापाका नागरिकहरु औधी खुशी बनेका छन् ।