पीयूकाे प्रश्नपत्र आउट गर्ने कर्मचारी सहित १० जना पक्राउ

१२ बैशाख २०७८, विराटनगर– परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेको अभियोगमा पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरूसँग रकम लिएर उनीहरुले परीक्षा हुनु भन्दा दुई घण्टा अगाडि नै प्रश्नपत्र आउट गरेको आरोपमा पक्राउ गरिएकाे हाे ।

मोरङ प्रहरीले प्रश्नपत्र आउट गर्नमा संलग्न रहेको अभियोगमा एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई पक्राउ गरेको जनाएकाे छ। मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाडौंबाट शनिबार राति पक्राउ गरि ल्याएको छ भने अन्य दुई जनालाई विराटनगरबाट पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरी ‘शिक्षा ऐन’ अनुसार म्याद थप गरि अनुसन्धान गर्दै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको ३ वैशाखमा  हुने स्नातक दोस्रो सेमेस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि बाहिरिएको थियो । १ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमतोमा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको थियो । प्रहरीले एक साता लामो अनुसन्धान गरी पक्राउ गरिएकालाई आज अपरान्ह जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी रहेकाे बताइएकाे छ ।

अनुसन्धानमा संलग्न  प्रहरी अधिकारीका अनुसार प्रश्नपत्र आउट गर्ने कर्मचारीलाई प्रत्येक विद्यार्थीहरूले १० देखि २० हजार भन्दा बढी रकम दिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post मंगाेलकाे तेस्रो नगर अधिबेशन सम्पन्न
Next post उज्यालाेका पत्रकार पक्राउ