उपहार स्वरुप स्वास्थ्य सामाग्रीः दमकमा क्षमता भन्दा धेरै कोभिड विरामी अस्पतालमा भर्ना
स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरकाे आग्रह
१९ साउन २०७८/झापा
नेपालको गौरवशाली योजनाको रुपमा हेरिएको नेपाल चाइना फ्रेण्डशीप औधोगिक पार्कले आज दमक नगरपालिकालाई उपहार स्वरुप स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । चाइनाको ल्हासाबाट पार्क निर्माण गर्ने कम्पनिले कोरोना नियन्त्रणमा सवैलाई एकसाथ जुट्न आग्रह गरेको सन्देश सुनाउँदै पार्कका अध्यक्ष गोविन्द थापा मार्फत सामाग्री हस्तान्तरण गरिएको छ । कार्याक्रममा अध्यक्ष थापाले कोरोना भाइरसका कारण दमकमा बन्ने भनिएको नेपालकै ठूलो औधोगिक पार्क निर्माणमा ढिलाई भएको बताउनु भयो । कोरोना उपचारको क्रममा अति आवश्यक अक्सिजन कन्सर्नटे«टर १५ थान र १६ हजार एन नाइन्टी फायभ माक्स हस्तान्तरण गरिएको हो ।
जिल्लामा पछिल्लो समय सवै भन्दा धेरै दमक नगरपालिकामा कोरोना भाइरस बढ्दै गएको छ । भाइरस बढ्नेक्रमलाई मध्यनजर गर्दै सहयोगी दाताहरुले समेत उपचारमा आवश्यक सामाग्री सहयोग गर्दै आएकोले भाइरस न्यूनिकरणमा टेवा पुगेको नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताउनु भयो । अधिकारीले पछिल्लो समय कोरोना संक्रमण तिव्र बढेकाले अस्पतालको क्षमता भन्दा धेरै कोरोनाको विरामी राख्नु पर्ने अवस्था आएको बताउनु भयो । हाल दमक अस्पतालले संचालन गर्दै आएको वेलडाँगीको कोभिड अस्पतालमा ३० वेड क्षमता भए पनि ३७ जना राख्नु परेको छ । वेडको अभावमा भूँइमा विरामी राख्नु परेकाले सवैले स्वास्थ्य मापदण्डको पालना गरेर कोरोनाबाट बच्न र बचाउन सहयोग गर्न आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नगरपालिकाका मेयर रोमनाथ ओलीले पछिल्लो समय कोरोना संक्रमण तिव्ररुपमा फैलंदै गएकाले नगरपालिकाले बजार बन्द गर्नु पर्ने अवस्था आएको बताउनु भयो । उहाँले बन्दले धेरैलाई प्रभाव परेको भए पनि यो जोखिमको अन्त्य गर्न सवैले सहयोग गर्नु पर्ने बताउनु भयो ।