एक साथ झापाका विभिन्न स्थानमा जिउँदो माछा बिक्री केन्द्र सञ्चालन


२१ असोज २०७८/सारासन्देश समाचार
भारतीय मरेको माछाको खपत कम गर्न झापाका पाँच जना युवाले जिल्लाको ११ स्थानमा एकसाथ जिउँदो माछा बिक्री केन्द्र सञ्चालनमा ल्याएका छन् । गाभुर एग्रो फार्म प्रालि मार्फत उनीहरुले आज घटस्थापनको शुभसाइतमा माछा बिक्री केन्द्रहरु उद्घाटन गरेका छन् ।
स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक अग्र्यानिक जिउँदो ताजा माछा बिक्री केन्द्र बिर्ताबजारमा उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्घाटन गर्नु भएको छ ।
गाभुर एग्रोले मेचीनगर नगरपालिकाको काँकडभिट्टा, इटाभट्टा र धुलाबारी, भद्रपुर नगरपालिकाको झापा चोक र सगरमाथा चोक तथा बिर्तामोड नगरपालिकाभित्र बिर्ताबजार, चारपाने, बुट्टाबारी, जात्रुबारी, अतिथि सदन रोड र स्याँलडाँगीमा केन्द्रहरु सञ्चालनमा ल्याएको ग्राभुर एग्रो फार्म प्रालिका अध्यक्ष अर्जन राजबंशीेले बताउनु भयो । ११ वटै केन्द्रको एकमुष्ठ उद्घाटन बिहीबार बिर्ताबजार बिक्री केन्द्रमार्फत गरिएको हो ।

जिल्लामा माछा पालक किसानको संख्या दैनिक बढ्दै गएपनि उत्पादन भएको माछाले बजार नपाउने समस्या बढेकोप्रति वाणिज्य महासंघका प्रदेश अध्यक्ष ढकालले चिन्ता व्यक्त गरे । उनले कृषि कर्मबाट किसानलाई पलायन हुनबाट रोक्ने नीति र सहुलियत दिने कार्यक्रमहरु ल्याउन सरकार समक्ष आग्रह समेत गरे । स्वास्थ्यको लागि माछा बहुउपयोगी भएकाले विषादीयुक्त फर्मालिन प्रयोग गरेको मरेको भारतीय माछाको सट्टा स्थानीय किसानले उत्पादन गरेका जिउँदो ताजा माछा खाने बानी बसाल्न ढकालले आग्रह गर्नु भयो ।
पाँच जनाको उक्त टिमले सर्वोत्तम एग्रो सप्लायर्स प्रालि नामक् अर्को एउटा कम्पनी समेत स्थापना गरी माछाको दाना बिक्री गर्दै आएको छ । भारतीय कम्पनी ग्रोवेल फिड्सको ग्रोवेल नामक् माछाको दाना बिक्री गर्दै आएको सञ्चालक प्रमोद राजवंशीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८०५ संक्रमित, ९११ निकाेः ८ जनाकाे मृत्यु
Next post नेपालको पहिलो कृषि पर्यटन क्षेत्र गौरादहमा पाहुना घर संचालनमा (भिडियाे सहित)