रैथाने बालीमा अनुदानः झापा जिल्लामा ६ वटा कृषि समूहले बाली संरक्षणमा काम गर्दै
१३ मंसीर २०७८/डिकेश लामा
झापामा रैथानेबाली कोदो तथा फापरको खेती घट्दै गए पछि यसको विस्तार गर्न यो बर्ष अनुदानमा जोड दिइएको छ । गत बर्ष एउटा कार्याक्रम मात्र कार्यान्वयन आए पछि यस बर्ष ६ वटा कृषक समूहले अनुदानमा खेती गर्न थालेका छन् । एउटा समूह वा संस्था एक लाख रुपयाँ अनुदान उपलब्ध गराइने छ । अनुदानका लागि समूह छनौट गरी कार्याक्रम अघि सारिएको छ । झापा जिल्लामा धान, मकै र तरकारीबालीको ठूल्ठूला कार्याक्रम संचालनमा आएका छन् । जसका कारण रैथानेबाली घट्न थालेकाले चालु आर्थिक बर्षमा अनुदानमा खेती विस्तार गर्न थालिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले बताउनु भयो । सिंहका अनुसार बर्षेनी रैथानेबाली घट्दै जान थालेकाले कोदो, फापर, जौ लगायतका बाली संरक्षण र विकास गर्न यस बर्ष अनुदानको कार्याक्रम बढाइएको हो ।
जिल्लामा रैथाने बालीको रुपमा कोदो, फापर, आलासको खेती हुने गर्छ । तर पछिल्लो समय धान, मकै र तरकारीबालीमा सुपरजोन, जोन तथा व्लक कार्याक्रम संचालनले लोपोन्मुख बालीको खेती थप प्रभावित बन्दै गएको गौरादह क्षेत्रका किसानले बताएका छन् । विगत बर्षहरुमा झापाको उच्च स्थान बाह्रदशी गाऊँपालिका वडा नं. ६ को कन्चनगढ डाँडामा कोदो खेती मात्र गरिन्थ्यो । तर विस्तारै सो क्षेत्रमा समेत कोदो खेती गर्नेहरु अन्य खेतीमा लागेको स्थानीय मिनबहादुर भूजेलले बताउनु भयाे । भूजेलका अनुसार पहिले पहिले काेदाे, फापर लगायतका खेती हुने साे उच्च भूभागमा समेत यतिखेर अन्य बाली तर्फ किसानकाे अाकार्षण बढेकाे छ ।
३ बर्ष यता झापामा रैथानेबाली अन्तर्गत कोदो र फापर खेतीको झण्डै दोब्बर क्षेत्रफल घटेको छ । पछिल्लो समय २ हजार हेक्टर हाराहारीमा हुँदै खेतीलाई पुन बृद्धि गर्न यस बर्ष अनुदानमा विविध कार्याक्रम संचालनमा ल्याइएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।