झापाका ग्रामिण भेगमा खानेपानी विस्तार हुँदैः बजेटको अभावमा कतिपय योजना निर्माणमा ढिलाइ
२२ पौष २०७८/डिकेश लामा
बर्षौं देखि ट्यूवेलको भरमा आइरनयुक्त पानी पिउन बाध्य ग्रामिण क्षेत्रका मानिसहरुमा विस्तारै शुद्ध खानेपानीको पहुँच पुग्न थालेको छ । जिल्लाको ग्रामिण क्षेत्रमा समेत खानेपानी योजना निर्माण हुन थाले पछि खानेपानीको पहँुच विस्तार हुन थालेको हो । झापाको विभिन्न स्थानमा गएको आर्थिक बर्षमा ४ वटा योजनामा खानेपानी संचालन भएका छन् । खानेपानी घर घरमा आए पछि खानेपानीको समस्या भोग्दै आएका बासिन्दालाई सहज भएको ग्वालडुब्बा खानेपानी संचालित क्षेत्रका बासिन्दाले बताएका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नम्बर ४ झापाले इलाम र झापामा खानेपानी योजना संचालन तथा निर्माण गर्दै आएको छ । कार्यालय मार्फत संघ र प्रदेश गरी जम्मा २ सय ७० वटा योजना रेखदेख गर्दै आएको कार्यालयका प्रमुख सयनकुमार श्रेष्ठले बताउनु भयो । यथेष्ठ बजेटको अभावमा धेरै योजना सुस्त गतिमा मात्र काम भइरहेको श्रेष्ठले बताउनु भयो ।
जिल्लामा लक्ष्मीपुर, धुलाबारी, महारानीझोडा, गौरादह, डाँगीबारी, कैंदले लगायत ठूला खानेपानी योजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । धमाधम खानेपानी योजना निर्माण हुन थाले पछि अव भने चाँडै नै खानेपानी पाउने आशा पलाएको कन्काई नगरपालिका वडा नं. २ का बासिन्दा निरगुणप्रसाद घिमिरे बताउनु भयो । तर आवश्यक बजेट विनियोजन नभएकाले निर्माण थालेको कतिपय योजना १० बर्ष भइसक्दा समेत संचालन आउन नसकेको खानेपानी पुग्न नसकेको कन्काई नगरपालिका उत्तरी क्षेत्रका बासिन्दाले बताएका छन् ।
झापा जिल्लामा अझै पनि १७ प्रतिशत मानिसमा शुद्ध खानेपानीको पहँुच पुग्न सकेको छैन । संघीय गणतन्त्रात्मक लोकतान्त्रिक राज्य निर्माणसँगै शुद्ध खानेपानीको अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको सामाजिक अगुवाहरुको भनाइ छ ।