झापामा विभिन्न पालिकामा बनाइएका कृषि बजारले सहजता (फाेटाे फिचर सहित)
२३ माघ २०७८/बालदिवश तामाङ
प्रदेश सरकारको सहयोगमा झापामा कृषि बजार तथा संकलन केन्द्र निर्माणले किसानलाई सहज भएको छ । अघिल्लो आर्थिक बर्षमा जिल्लाका विभिन्न ४ स्थानमा बनाइएका बजारले किसानलाई कृषि उपार्जन खरिद विक्रीमा सजिलो भएको छ । झापाको गौरीगंज, गौरादह, अर्जुनधारा तथा दमकमा निर्माण गरिएका र हुँदै आएका कृषि बजारले किसान तथा उपभोक्तालाई केही सहजता भएको छ । आफ्नै बजार नहुँदा ठूलो क्षेत्रमा तरकारी खेती गर्ने गौरादहका किसानलाई कृषि बजार निर्माणले सहजता भएको छ । प्रदेश सरकारको सहयोगमा स्थानीय सरकार र किसान आफैले निर्माण गरेका दुई वटा बजारले तरकारी खरिद विक्रीमा सजिलो भएको स्थानीय उपभोक्ताले बताएका छन् । संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा गौरादह नगरपालिकाले बजारको दक्षिणी भूभागमा सार्वजनिक शौचालय, सटर सहित व्यवस्थित टहरा निर्माण गरेर हटिया संचालन गर्न थालेको छ । खास गरी कृषि उपार्जनलाई लक्षित गरी निर्माण थालिएको बजारले किसानसँगै व्यापारीलाई समेत ठूलो टेवा पुगेको नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताउनु भयो ।
गत आर्थिक बर्षमा जिल्लाको बाह्रदशी र झापा पालिकामा ४ वटा कृषि बजार र संकलन केन्द्र निर्माण भएका छन् । कृषि प्रवर्धनमा ज्ञान केन्द्र र अन्य सहयोगीदाताको सहयोगमा पालिकाको बजेट समेत लगाएर छुट्टै बजार निर्माण गरेकाले किसानलाई सहज भएको गौरादह नगरपालिका प्रमुख रोहितकुमार शाहले बताउनु भयो । प्रमुख शाहका अनुसार बर्षेनी बजारमा उपभोक्ता र व्यापारीको संख्या बढ्न थाले पछि व्यवसायिक कृषि उत्पादन गर्ने किसानलाई समेत सहज होस् भन्ने उदेश्यले शौचालय सहित सवै संरचना गरी २ करोड भन्दा धेरै लगानीमा बजार निर्माण गरिएको हो ।
यस्तै गौरादह बजारमै साना किसान कृषि सहकारी संस्थाहरु मिलेर भाडाको जग्गामा छुट्टै किसानको बजार निर्माण भएको छ । यसै बर्ष निर्माण सम्पन्न भएको बजारमा किसानले उत्पादन गरेको अर्गानिकउन्मुख उत्पादनहरुलाई सिधै बजारमा ल्याउने गरिएको छ । भारतबाट आउने विषादीयुक्त सागसव्जी विस्थापित गर्न प्राङगरिक तरिकाले खेती गरेको सागसव्जी तथा अन्य उत्पादनका लागि बजार निर्माण भए पछि कृषकले संकलन केन्द्रमा कृषि उपार्जन जम्मा गर्ने गरेका छन् । संकलन तथा विक्री केन्द्र निर्माणले किसान, व्यवसायी र उपभोक्तालाई समेत राम्रो भएको किसानको बजार निर्माणमा अगुवाइ गर्ने महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो ।
ग्रामिण तथा दुर्गम सीमा क्षेत्रलाई लक्षित झापा जिल्लामा प्रदेश र स्थानीय सरकारले धमाधम नयाँ कृषि बजार निर्माण गर्न थालेका छन् । बजार र संकलन केन्द्र निर्माणले विच्यौलाका कारण किसान र उपभोक्ता मारमा पर्ने समस्या हट्न थालेको उनीहरुले बताएका छन् ।