झापामा इलाका प्रशासन कार्यालयको पहिलो पटक ३ दशक पछि दमकमा आफ्नै भवनबाट सेवा सुचारु (फाेटाे फिचर सहित)


२४ माघ २०७८/डिकेश लामा

संघीयता कार्यान्वयनसँगै बर्षौं पछि पहिलो पटक इलाका प्रशासन कार्यालय दमक आफ्नै भवनमा संचालन हुन थालेको छ । प्रशासन कार्यालय संचालन भएको झण्डै ३ दशक पछि आफ्नै भवनबाट सेवा सुचारु गर्न थालेको हो । झापा जिल्लामा कार्यालय संचालन भएको २८ बर्ष पछि पहिलो पटक इलाका प्रशासन कार्यालय दमकले आफ्नै भवनबाट सेवा संचालन थालेको छ । दमक ८ स्थित १० कठ्ठा क्षेत्रफल जग्गामा साढे ४ करोड बजेटमा शहरी विकास तथा भवन निर्माण कार्यालय मार्फत भवन निर्माण भए पछि हालै आएर आफ्नै भवनमा कार्यायल संचालन हुन थालेको इलाका प्रशासन कार्यालय दमकका सूचना अधिकारी सूर्यमान बाँनियाले बताउनु भयो । बाँनियका अनुसार इपासपोर्ट संचालनको लागि भाडाको घरमा संभव नभए पछि पूर्णरुपमा भवनको काम सकेर हस्तान्तरण नगरी नयाँ भवनको तल्लो तलाबाट काम सूचारु भएको छ । माघ १३ गते प्रसाशनको सामाग्री सारेर १७ गते देखि प्रशासनिक काम नयाँ भवनबाटै सूचारु गरिएको छ ।

२०५० साल चैत्र ४ गते दमकको पशुहाटमा भाडाको घरबाट सेवा दिन थालेको प्रशासन कार्यालयले चौथो पटक सर्दा मात्रै आफ्नै भवनमा संचालन हुन पाएको हो । प्रशासनको बाहिरी संरचनाको काम अझै पनि सकिएको छैन । तोकिएको म्यादभित्र सकेर हस्तान्तरण गरिने कन्चनजंघा निर्माण कम्पनीका इन्जिनियर राज भट्टराईले बताउनु भएको छ । भट्टराईका अनुसार आगामी फाल्गुन महिना भित्र निर्माणको पुरै काम सकेर हस्तान्तरण गरिने छ । दमक बजारको सानो क्षेत्रमा कष्टकर र भीडका साथ भाडामा संचालन हुँदै आएको कार्यालय संघीयता पछि आफ्नै भवनमा सर्न सफल भएको हो । ठूलो क्षेत्रमा भवन बने पछि सेवाग्राहीलाई धेरै सहज भएको छ । यस अघि दमक वडा नं. ६ मध्य बजार क्षेत्रमा रहेको भाडाको घरमा प्रशासनिक काम कार्वाहीमा समस्या हुँदै आएको थियो । पछिल्लो समय राष्ट्रिय परिचय पत्र, मतदाता परिचय पत्र र इपासपोर्ट समेत इलाका प्रशासनबाटै हुन थाले पछि सेवाग्राहीको अध्याधिक भीड लाग्ने गरेको छ ।

१५ वटा स्थानीय तह रहेको झापामा जिल्लामा प्रशासनकाको कार्य २ इलाका सहित ३ स्थानबाट संचालन हुँदै आएको छ । विक्रम सम्बत २०७२ सालमा गौरीगंज गाउँपालिकामा अर्को इलाका प्रशासन कार्यालय संचालन गरिँदै आएको छ । भाडामा संचालित उक्त गौरीगंज इलाका प्रशासन कार्यालयले माइ पश्चिम क्षेत्रको गौरादह र गौरीगंज पालिकाका सेवाग्राही सेवा दिँदै आएको छ । यस्तै दमकबाट भने शिवसताक्षी, कमल र दमकका नागरिकको प्रशासनको काम गर्दै आएको छ । यस बाहेक माइ पूर्वका १० वटा पालिकाको प्रशासनिक काम जिल्ला प्रशासन कार्यालय भद्रपुरबाटै हँुदै आएको छ । कन्काई माई पूर्व ठूलो क्षेत्रको काम जिल्ला सदरमुकाम नै पुग्नु पर्दा नागरिकले सानो कामको लागि समेत ३ दिनसम्म धाउनु परेको झापाको पूर्वी उत्तरी क्षेत्र बुद्धशान्ति ४ का रामबहादुर लिम्बुले बताउनु भयो । यस्तै हल्दिबारी जलथलबाट ५ दिन धाउँदा पनि नागरिकताको प्रतिलिपि बनाउन समस्या भएको बताउनु भएको छ ।

जिल्लामा धेरै जनसंख्याका र ठूलो क्षेत्रको एउटा स्थानबाट मात्र सेवा दिनु पर्दा जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको सेवाग्राहीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १५७० संक्रमित, ६१४६ निकाेः १३ जनाकाे मृत्यु
Next post स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० गते हुनेः २००४ साल देखि यता नेपालमा कति पटक भए त स्थानीय तहकाे निर्वाचन ? (इतिहास सहित)