स्थानीय तहकाे निर्वाचन आगामी वैशाख ३० गते हुनेः २००४ साल देखि यता नेपालमा कति पटक भए त स्थानीय तहकाे निर्वाचन ? (इतिहास सहित)

२४ माघ २०७८,काठमाडौं- स्थानीय तहको निर्वाचन सरकारले आगामी वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएकाे छ ।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्वन्धी कानूनमा खासै परिमार्जन गर्न नपर्ने आयोगले सरकारलाई परामर्श दिए पछि राजनीतिक दलबीच संविधान र कानूनका विषयमा स्थानीय तहको निर्वाचनका सन्दर्भमा फरक बुझाई र विश्लेषण भएका कारण निर्वाचनको मिति घोषणालाई चासोका साथ हेरिँदैआएको थियो । यसअघि आयोगले सरकारलाई जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न सुझाएको थियाे । तर जेठमा चुनाव गर्दा कर्मचारी व्यवस्थापनमा समस्या हुने भएकाले बैशाख ३० गते नै निर्वाचन गर्ने निर्णय गरिएकाे मन्त्री कार्कीले बताउनु् भयाे ।

नेपालमा स्थानीय तहकाे इतिहास कस्ताे छ त?

राणाकालमै भएको थियो पहिलो निर्वाचन

नेपालमा निर्वाचनको इतिहासमा वि.स. २००४ सालको स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्य्मशमशेरले निर्वाचन गराउनु भएकाे थियाे । त्यसवेलाको पहिलो निर्वाचन समिति मै भाँडभैलो भएको थियो

२०१० मा पहिलोपटक महिलालाई मताधिकार

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २०१० भदौ १७ गते काठमाडौं नगरपालिको निर्वाचन भएको थियो । यही निर्वाचनमा महिलाहरुले पहिलोपटक मतदान गर्ने अधिकार प्राप्त गरेका थिए । यो निर्वाचनमा पाँचवटा दलले सहभागिता जनाएका थिए भने स्वतन्त्र उम्मेदवारहरु पनि रहेको थिए । काठमाडौँ म्युनिसिपालिटीको २०१० सालमा भएको निर्वाचनमा वडा नं ८ बाट साधनादेवी प्रधान प्रथम निर्वाचित जनप्रतिनिधि बन्न सफल हुनुभएको थियो ।

विसं २००४ मा भएको काठमाडौँ म्युनिसिपालिटीको निर्वाचनपछि मुलुकमा नगरपालिका निर्वाचन विसं २०१० भदौ १७ गते भएको थियो । त्यसैगरी स्थानीय निर्वाचन विसं २०१४ माघ ७ गते, गाउँपञ्चायत निर्वाचन विसं २०१८ फागुन ७ देखि विभिन्न मितिमा सम्पन्न भएका थिए । यसअघि स्थानीय तहलाई म्युनिसिपालिटी, नगरपालिका, गाउँ पञ्चायत, नगरपञ्चायत, गाउँ विकास समिति, नगरपालिका, जिल्ला पञ्चायत, जिल्ला विकास समिति आदि नामले चिनिँदै आएको निर्वाचन आयोगद्वारा प्रकाशित प्रश्नोत्तर पुस्तकमा उल्लेख गरिएकाे छ ।

आयोगका अनुसार, नगरपञ्चायत निर्वाचन विसं २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन विसं २०१९ देखि विभिन्न मितिमा, अञ्चालसभा र अञ्चल पञ्चायत निर्वाचन विसं २०२० देखि विभिन्न मितिमा सम्पन्न भएका थिए । स्थानीय तह निर्वाचनकारूपमा विसं २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँ पञ्चायत तथा नगरपञ्चायत, विसं २०३९ असार २ गते जिल्ला पञ्चायत, विसं २०४३ साल चैत ७ र १० गते गाउँपञ्चायत तथा नगरपञ्चायत एवं विसं २०४४ साल वैशाख २६ गते जिल्ला पञ्चायतको निर्वाचन भएको इतिहास छ ।

मुलुकमा प्रजातन्त्रको पुनः स्थापनाभएपछि स्थानीय तहको निर्वाचनकारूपमा विसं २०४९ जेठ १५ र १८ गते गाउँविकास समिति तथा नगरपालिका निर्वाचन, विसं २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, विसं २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा विसं २०५४ असार २७ गते जिल्ला विकास समितिको निर्वाचन भएको थियो । विसं २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन भयो । यस अघि मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिकारूपमा संविधानसभाबाट नेपालको संविधान जारी भएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानीय तहको पहिलो निर्वाचन तीन चरणमा भएको थियो । विसं २०७४ वैशाख ३१, असार १४ र असोज २ गते सो स्थानीय तहको निर्वाचन भएको थियाे । जसमा ५७ दलले भाग लिएका मध्ये १८ दलले प्रतिनिधित्व गर्ने अवसर पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा इलाका प्रशासन कार्यालयको पहिलो पटक ३ दशक पछि दमकमा आफ्नै भवनबाट सेवा सुचारु (फाेटाे फिचर सहित)
Next post नेपालमा आज १९५७ संक्रमित, ५१०३ निकाेः ११ जनाकाे मृत्यु