झापामा अवैधरुपमा एक दर्जन बढी क्रसर उद्योग संचालनः लापार्वाही उत्खननले जोखिम बढ्दै (फाेटाे फिचर सहित)
२७ फाल्गुण २०७८/डिकेश लामा
झापामा दर्जन बढी क्रसर उद्योगहरु अवैधरुपमा संचालन हुँदै आएका छन् । अवैध रुपमा संचालन हुँदै आएका क्रसर उद्योगलाई नियन्त्रण गर्न नसक्दा पर्यावरणमा असरसँगै राज्यले लाखौं रुपयाँ राजश्व गुमाउनु परेको छ । नविकरण नभएका र कतिले दर्ता नै नगरी क्रसर उद्योगहरु संचालन भइरहँदा पनि सरोकारवाला निकायले नियन्त्रण गर्ने पहल गरेको छैन ।
जिल्लामा राज्यलाई तिर्नु पर्ने कर नतिरी अवैधरुपमा लामो समय देखि क्रसर उद्योगहरु संचालनमा रहेका छन् । कानुनी अड्चन र राज्यको संयन्त्रले कडाइ नगर्दा नविकरण नगरी दर्जन बढी उद्योगहरु संचालन हुँदै आएको घरेलु तथा साना उद्योग झापाका प्रमुख जयनारायण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार ५ बर्ष देखि १२ वटा दर्ता भएका क्रसर उद्योगले नविकरण नगरी संचालन गरिरहेका छन् । जसले गर्दा करोड भन्दा धेरै राजश्व राज्यलाई घाटा भएको छ । दर्ता गरेकाले नविकरण गरेका छैनन् भने कतिपय स्थानमा दर्ता विना नै क्रसरहरु संचालनमा छन् । जिल्लाको तथ्याङकमा मावा खोलामा क्रसर दर्ता नरहेको भए पनि धेरै वटा उद्योगहरु संचालनमा रहेको स्थानीयले बताएका छन् । यस्तै जिल्लाको टाङटिङ्ग, विरीङ्ग, मेची लगायतका खोला तथा नदि क्षेत्रमा क्रसर उद्योगहरु धेरे जसो संचालनमा रहेका छन् ।
अवैधरुपमा क्रसर उद्योग संचालन भए पछि खोला तथा नदिमा उत्खनन् पनि उतिकै भईरहेका छन् । विना मापदण्ड लापार्वाहीरुपमा उत्खनन् भइरहँदा पनि सरोकारवाला निकायबाट अनुगमन र कढाइ हुन नसकेको खोला प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् । क्रसर र खोला तथा नदि उत्खनन् भएकै कारण चुरे क्षेत्र जोखिममा परेका छन् । कतिपय पालिकाले प्रारम्भिक वातावरण परिक्षण विनै उत्खनन् गर्ने र क्रसर तथा वालुवा प्रशोधन उद्योग संचालन गर्न दिएकाले पनि बर्षेनी वेमौषी बाढी र पहिरोको जोखिम बढ्दै गएको ाष्ट्रपति चुरे तराई मधेस समृद्धि विकास समितिका बोर्ड सदस्य कमला ओलीले बताउनु भयो । ओलीका अनुसार समितिबाट समेत चुरे क्षेत्र उत्खनन् गर्दा अनुमति लिनु पर्ने भए पनि हालसम्म स्थानीय तहले लापार्वाही ढंगबाट नै उत्खनन् हुँदै आएको बताउनु भयो ।
यस्तै लापार्वाही उत्खनन्कै कारण नदि कटानको जोखिम समेत उच्च बढ्दै गएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार लापार्वाही उत्खनन्ले बर्षा खोलाले नसोचेको स्थानमा कटान गरेर बाढी गाउँ पस्न थालेको छ । यसका लागि सरोकारवाला निकाय सवैले वेलैमा ध्यान नदिने हो भने जिल्लामा खेती योग्य जमिन अझै बगरमा परिणत हुने क्षेत्र बढ्दै जाने उहाँले बताउनु भयो ।
झापा जिल्लामा खोलाबाट नदिजन्य सामाग्री निकाल्ने ठेक्ला लाग्दा पनि सिमाना र कति घन मिटर निकाल्ने भन्ने उल्लेख्य गरिन्छ । तर अधिकांश क्षेत्रमा खोलामा पुगेर अनुगमन नगर्दा दोहनको सिमा नाघ्ने गरेको खोला क्षेत्रका बासिन्दाले बताएका छन् ।