निर्माण थालेको ३ दशक पछि सडकले बर्षौंको सास्ती हट्ने आशा (फाेटाे फिचर सहित)

४ वैशाख २०७९/बालदिवश तामाङ

३ दशक अघि देखि निर्माण थालिएको दमक रवि चिसापानी सडक हालै आएर कालो पत्रे गर्ने कार्य थालिएको छ । ३ प्याकेजमा १ अर्व ३५ करोडमा लागेको ठेक्काको निर्माण कार्यले पछिल्लो समय तिव्रता पाएको हो । पूर्वी नेपालको पहाड र तराई जोड्ने छोटो र छिटो मार्गको रुपमा हेरिएको दमक रवि चिसापानी सडकको कामले पछिल्लो समय तिव्रता पाएको छ । ३ वटै प्याकेजको काम कालो पत्रेका लागि धमाधम निर्माण हुन थाले पछि अव भन्ने चाँडै सडक निर्माण हुने आशा पलाएको उपभोक्ताले बताएका छन् ।


पहिलो ६ दशमलव २ किलो मिटर प्याकेजको काम निर्धारित समयमा सकिएको छैन । यस अघि पेटी ठेक्का लिएर काम गर्नेले उचित काम नगरेको भन्दै पछिल्लो समय आफैले काम गर्न थालेको महालक्ष्मी किरातेश्वर जेभीका पदाधिकारी कमल राईले बताउनु भयो । २०७५ साल असार २९ गते २० करोड रुपयाँमा ठेक्का लागेको पहिलो खण्ड २०७७ पुस २९ गते नै निर्माण सक्नु पर्ने हो । तर थप म्याद यही चैत्र मसान्त सम्म काम नसकिएकाले दण्ड जरिवाना तिरेर भए पनि बर्षात अगावै ग्राभेलको काम भने सक्ने योजनामा पछिल्लो समय धमाधम काम भइरहेको राईले बताउनु भयो । बाँकी २६ किलो मिटरको काम भने तोकिएकै समयमा सक्ने गरी धमाधम भइरहेको अनुगमनमा खटिएका निर्माण उपभोक्ता समितिका अध्यक्ष गगन पुरीले बताउनु भयो । पुरीका अनुसार काम अझै पनि सोचे जसरी तीव्र गतिमा हुन नसकेको बताउनु भयो । तथापि पछिल्लो कामको गतिले भने केही सन्तोषजनक भएकाले सवै उपभोक्ता सचेत भएर तिव्र र गुणस्तरीय काम गर्न गराउन पहल गर्नु पर्ने उहाँले बताउनु भयो ।


सडक निर्माणमा ढिलाइसँगै गुणस्तरहीन सामाग्रीको प्रयोग भएको भन्ने गुनासो आए पछि उपभोक्ताले समेत निगरानी बढाएका छन् । जसले गर्दा सडकको पछिल्लो काम र गती सन्तोषजनक रहेकाले तोकिएको समय अवधिमा बन्न सक्ने भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय सडक डिभिजन दमकका प्रमुख रमेश पौडेलले बताउनु भयो । पौडलका अनुसार पहिलो खण्डको जरिवाना तिराएर भए पनि पहिलेकै ठेकेदार कम्पनिबाट काम गराउने योजना रहेको बताउनु भयो । बाँकी काम आगामी फाल्गुण महिनासम्म सक्ने र नसके २ देखि ३ महिना थप समयमा काम सकिने दावी गर्नु भयो ।

झापाको दमक देखि इलाम हुँदै पाँचथर जोडिने दमक रवि चिसा पानी सडक विक्रम सम्बत् २०५० साल देखि निर्माण थालिएको हो । यो सडकले पूर्णता पाईसक्दा पूर्वी पहाडी जिल्लाका धेरै बासिन्दाको बर्षौं देखिको सास्ती अन्त्य हु्ने भएकाले चाँडो निर्माण गर्न उपभोक्ताले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १२ संक्रमित, ३६ निको
Next post नेपालमा आज १० संक्रमित, ३४ निको