गौरादहमा बृहतरुपमा धमाधम बनाउँदै साइलेज (फाेटाे फिचर सहित)
११ जेष्ठ २०७९/डिकेश लामा
झापा गौरादहका किसानहरु मिलेर आफै साइलेज उत्पादन थालेका छन् । सरकारको ७० लाख रुपयाँ अनुदान सहयोग पाए पछि महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले प्रदेश नम्बर एकमै बृहत र गुणस्तरी लाइलेज उत्पादन थालिएको छ । प्रदेश मै नयाँ प्रविधिको मेशिन भित्राएर यतिखेर धमाधम लाइलेज बनाउन थालिएको महारानीझोडा साना किसान सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकालले बताउनु भयो ।
झापाको गौरादहमा महिलाहरुले मात्र संचालन गरेको महारानीझोडा साना किसान सहरकारी संस्थाले आफै साइलेज उत्पादन थालेको छ । हरियो मकैबाट गाईबस्तुका लागि आहारको रुपमा बनाइने साइलेज बृहत उत्पादनले रोजगारीसँगै किसानलाई समेत धेरै फाइदा हुने अपेक्षा गरिएको संस्थाका व्यवस्थापक चिरञ्जीवि भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार प्रदेशमै यो प्रविधिमा सामुदायिक स्तरमा बृहत साइलेज उत्पादनले स्थानीय स्तरका पशुपालक किसानको आयस्तर बृद्धिमा समेत टेवा पुग्ने छ ।
कृषि तथा पशुपंक्षी मन्त्रालय माताहत विश्व बैंकको ऋण सहयोगमा संचालित नेपाल लाइभस्टक सेन्टर इन्नोभेशन आयोजनाको ७० लाख ६७ हजार रुपयाँ अनुदानमा थालिएको साइलेज उत्पादनमा सहकारीले झण्डै २ करोड रुपयाँ लगानीमा झापामा सामुदायिक स्तरमा पहिलो पटक ठूलो मेशिनबाट साइलेज बनाउन थालिएको छ । जसले गर्दा २ दर्जन बढीले रोजगारी समेत पाएको स्थानीय किसानले बताएका छन् ।
साइलेज उत्पादनले चैते धान देखि मकै खेती गर्ने झन्झट समेत घटाउने छ । यसबाट खेती भन्दा धेरै फाइदा हुने साइलेज उत्पादनमा लाग्नु भएका प्राविधिक बासुदेव कोइरालाले बताउनु भयो । कोइरालाका अनुसार यस बर्ष १ हजार ५ सय क्वीन्टल उत्पादन भइसकेको छ । साइलेज उत्पादन हुन थाले पछि किसानले समेत मकैको बोटको मुल्य ४ देखि ५ रुपयाँसम्म पाउन सक्ने अनुमान गरिएको छ । पहिलो पटक उत्पादन गर्न थालिएकाले यसको बजार समेत खोजी गर्ने र बजार मुल्य अनुसार किसानलाई हरियो मकैको बोटको मुल्य तोकिने तय गरिएको संस्थाले जानकारी दिएको छ ।
साइलेज भनेको सरल तरिकाले बुझ्नु पर्दा मानिसका लागि गुन्द्रुक भने जस्तै पशुका लागि बनाइने आहारा हो । हरियो मकैको घाँसबाट बनाइएको साइलेजबाट विदेशबाट आयात हुने दाना समेत घट्न सक्ने पशुपालक किसानले बताएका छन् ।