धान गोड्ने हाँस खेताला प्रविधिबाट धान उत्पादनमा बृद्धि (फाेटाे फिचर सहित)
१३ जेष्ठ २०७९/डिकेश लामा
झापामा पछिल्लो समय धानखेत भित्र हाँस पालन प्रविधिलाई जोड दिन थालिएको छ । धान खेत भित्र हाँस पाल्दा धान गोड्न नपर्ने र राम्रो उत्पादन समेत हुने गरेको हाँस पालक किसानले बताएका छन् ।
धान खेतीमा हाँस पालनले हाँस उत्पादनसँगै धान समेत राम्रो फल्ने गरेको छ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले संचालन गरेको कृषि परियोजना स्थलमा धान गोड्नका लागि हाँस पालिएको संस्थाका कार्यकारी अध्यक्ष शंकर नाथ उप्रेतीले बताउनु भयो । उप्रेतीका अनुसार हाँसले धान गोड्ने र फुल खेल्न थाले पछि हाँस वेच्ने गर्नु हुन्छ । यसो गर्दा हाँसको पनि आम्दानी र धान पनि राम्रो फल्ने र अर्को बालीलाई पनि सो जमिनमा मलको आवश्यकता नपर्ने हुन्छ । हाँसले गोडेको धान अन्य बाली भन्दा राम्रो फलेको उहाँले बताउनु भयो ।
त्यसो त कतिपय किसानले धान खेतमा हाँस पाल्दा गोड्ने र मलको काम दुवै हुन्छ भन्ने कुरा थाहा नपाई हाँस पाल्ने गरेका छन् । धान खेतमा हाँस पालेर राम्रो आम्दानी समेत लिन थालेको कमलमा खेतीसँगै हाँस पालनमा लाग्नु भएका युवा चिरन ढकालले बताउनु भयो । चीन, जापान, भियतनाम लगायतका देशका कृषि क्षेत्रका प्रतिनिधिसँग बसेर हाँसको बजारबारे छलफल भएकाले यस अघि १ हजारसम्म पालेको हाँस अझै बृहत बढाएर लाने उप्रेतीले बताउनु भयो ।
विदेशका केही मुलुकमा धान खेतमा हाँस पाल्दा दोहोरो लाभ हुने देखेर यो प्रविधिलाई नेपालमा प्रयोग गर्न थालिएको हो । हाँसको आम्दानीसँगै धान समेत राम्रो फलेको हाँस पालन गरेर अनुभव लिनु भएका किसान धनञ्जय चुडालले बताउनु भयो । चुडालका अनुसार यस अघि ३ विगाह जमिनमा एक हजार स्थानीय प्रजातिका हाँस छाडिएका थिए । जुन धान अन्य धान भन्दा धेरै फलेको र हाँसले नै गोडेको बताउनु भयो ।
धान गोड्न खेतलाको रुपमा हाँस पालन प्रविधि नेपालमा निजी क्षेत्रबाट खाद्यन्य उत्पादनमा लागेको राष्ट्रिय खाद्य वंैंक नामक संस्थाले शुरु गरेको छ । देशको विभिन्न एक हजार हेक्टर बढी भूभागमा खेती गर्दै आएको संस्थाले रैथाने जातका अन्नबालीलाई विशेष जोड दिइएको संस्थाले जानकारी दिएको छ । झापाको गौरादहमा ८५ विगाह क्षेत्रमा प्राङगरिक तरिकाले खेती गर्दै आएको संस्थाका संचालक सदस्य किरण राज रेग्मीले बताउनु भयो ।