कोरोना पछि पहिलो पटक किराती समूदायको बृहत साकेला सिली सम्पन्न (फाेटाे फिचर सहित)
२१ जेष्ठ २०७९/डिकेश लामा
बैशाखे पूर्णिमादेखि शुरु गरिएको किरातीहरुको उभौली पर्वको साकेला सिली सामुहिक रुपमा मनाएर समापन गरिएको छ । २ बर्ष देखि कोरोना कहरले रोकिएको साकेला सिली झापामा यस बर्ष बृहत रुपमा मनाइएको छ ।
झापाको कमल गाउँपालिकाको रतुवामाई बृक्षरोपण आयोजनाको बनमा बर्षेनी मनाउँदै आएको साकेला सिली यस बर्ष सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर एकका मन्त्री राजन राईको प्रमुख आथित्यमा सम्पन्न भएको छ । कार्याक्रममा बोल्दै मन्त्री राईले आफ्नो पार्टी नेकपा एकिकृत समाजबादी किरात प्रदेश नामाकरणको पक्षमा रहेको र सोही विषय लिएर अन्य पार्टीसँग सहजिकरण गरिरहेको बताउनु भयो । उहाँले ५ बर्ष वित्न लाग्दा समेत प्रदेशको नामाकरण नहुनु दुर्भाग्य भएको समेत बताउनु भयो ।
सरकारको नेतृत्वकर्ता हुनुका नाताले आउँदो १ असारमा आउने बजेट तथा कार्यक्रम लगत्तै प्रदेश संसदमा प्रदेश नामाकरणको प्रस्ताव टेवल गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । उहाँले पहिचान र भुगोल समेतलाई जोडेर पनि प्रदेश एकको नामाकरण गर्न सकिने पनि उल्लेख गर्नु भयो । किराँत राई यायोक्खा मार्फत प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सबै दलका किराँती नेता कार्यकर्ताहरुले पहिचानसहितको प्रदेशको नामाकरणलाई अस्विकार गर्ने दल परित्यागको घोषणा गरेर समेत दलहरुलाई नामाकरणमा दबाब दिन सक्ने उहाँले सुझाव दिनु भयो ।
कार्यक्रममा किराँत राई यायोक्खाका महासचिव अर्जुनजम्नेली राईले किराँत जाती नभई सभ्यतासंग समेत जोडिएकाले यो नाम अस्विकार गर्नु दलहरुको मुर्खता भएको बताउनु भयो । उहाँले भन्न् भयो, अबको २० औं बर्षमा किराँत शब्द अस्विकार गर्ने दलहरु रहलान् नरहलान् तर किराँत सभ्यता युगौं युग सम्म रहन्छ । कार्यक्रममा आदिवासी जनजाती महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरिया, आदिवासी जनजाती महिला महासंघकी नेतृ सुमित्रा वाङदेल चेली , यायोक्खा प्रदेश एकका अध्यक्ष पारसमणी राई लगायतले पनि सम्बोधन गर्दै पहिचान सहित प्रदेश एकको नामाकरण पहिचान सहित हुनु पर्नेमा जोड दिएका छन् ।
सो अवसरमा झापाका विभिन्न पालिका तथा वडाहरुबाट यायोक्खाको प्रारम्भिक समितिका किराँतीहरुको मौलिक पहिचान झल्किने साकेला नाचको प्रतियोगिता सञ्चालन गरिएको थियो भने झापा बाहिर तथा भारतको बागडोगरा लगायतका ठाउँहरुबाट पनि पहिचान झल्किने किसिमका परम्पारगत बाजागाजा सहित साँस्कृति कार्यक्रमहरु प्रस्तुत गरिएको यायोक्खाका केन्द्रीय सदस्य दिपेनवाला राईले जानकारी दिनु भयो । यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङको सभापतित्वमा भएको कार्यक्रममा सहभागी नृत्य समुहलाई प्रोत्साहन स्वरुप मायाको चिनो प्रदान गरिएको थियो भने झापाका विभिन्न पालिका तथा वडाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ ।
झापा, इलाम र भारतबाट समेत सहभागी भएका २३ वटा साकेला सिली टोलीले साकेला नृत्य प्रस्तुत गरेका छन् । २ बर्ष कोरोनाका कारण रोकिएको सिली कार्याक्रमका बक्ताहरुले प्रदेश नम्बर एकको नाम चाँडो र किरात राख्न माग समेत गरेका छन् । कार्याक्रममा आदिबासी जनजाति महासंघ लगायत विभिन्न जातजातिका संगठनका जिम्मेवार पदाधिकारीले किराती समूदायको उभौली पर्वको शुभकामना राख्नु भएको छ । उभौली पर्व खासगरी राई, लिम्बु, सुनुवार, याक्खा, थामी,सुरेल, जिरेल, धिमाल, बराम हायु लगायतका जातिले प्रकृति र मानवबीच सुमधुर सम्बन्ध रहोस् भन्ने कामना गर्दै मनाउने गर्दछन् ।