नेपालकै ठूलो झापामा बन्ने भनिएकाे औधोगिक पार्क निर्माणमा ढिलाई

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले शिल्यान्यास गरेकाे क्षेत्र

२४ जेष्ठ २०७९/डिकेश लामा

नेपालको ठूलो र महत्वकांक्षी योजनाको रुपमा हेरिएको चाइना नेपाल फ्रेण्डशीप औधोगिक पार्क निर्माणको काममा ढिलाई भएको छ । १ बर्ष अघि नै शिल्यान्यास भएको औधोगिक पार्क निर्माण योजनाको अझै मुआव्जा वितरण समेत सकिएको छैन ।

झापामा नेपालकै ठूलो औधोगिक पार्क निर्माणका लागि १ बर्ष अगाडि नै शिल्यान्यास गरिएको थियो । तर हाल सम्म ४ सय ९९ विगाह जमिनको १ अर्व ८ करोड रुपयाँ मात्र मुआव्जा वितरण भएको छ । अझै पनि २ सय ६२ विगाहको मुआव्जा दिन बाँकी रहेको चाइना नेपाल फ्रेण्डशीप औधोगिक पार्क सम्पर्क कार्यालयका अधिकृत काशिराम घिमिरेले बताउनु भयो । घिमिरेका अनुसार अझै पनि पार्कको नाममा काम गर्ने गरी जग्गा हस्तान्तरण नभएकाले भौतिक पूर्वाधारको काम अगाडि नबढेको हो ।

पार्क निर्माणका लागि आवश्यक पर्ने भनेको २ हजार १ सय विगाह जग्गा अधिग्रहणको काम ३ बर्ष अघि देखि थालिएको हो । ५ बर्ष अघि नै औधोगिक पार्कको योजना ल्याउने भन्ने जानकारवालाहरुले बगरको कौडीको मुल्यमा खरिद गरेको बगर जग्गालाई पछिल्लो समय सरकारबाट प्रति विगाह २२ लाखसम्म मुआव्जा लिएका छन् । यस कार्यमा पार्कको योजना पार्ने केही अगुवाहरुको नै सहभागिता रहेको स्थानीयले बताएका छन् । यस अघि जग्गाको मुआव्जा थोरै भयो भन्दै त्यस्ता व्यवसायीले आन्दोलन समेत गरेका थिए । तर पछिल्लो समय दुई चरण गरेर मुआव्जा रकम निकासा गरिएको भए पनि अझै पनि वितरण गर्ने कार्य पुरा हुन नसेको सम्पर्क कार्यालयले जानकारी दिएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिल्यान्यास गरिएको पार्कका लागि बर्षेनी बजेट विनियोजन भए पनि कामले गति लिन नसकेको पार्क क्षेत्रका बासिन्दाले बताएका छन् । कोरोना संक्रमणले पार्क निर्माणमा केही प्रभाव भने नपरेको होइन । तर अझै पनि जग्गाको मुआव्जा वितरण नै सकिएको छैन । मुआव्जा वितरण नसकि नै शिल्यान्यास भएको योजनाले औधोगिक क्षेत्र नजिक बसोबास गर्दै आएका बासिन्दामा भने घरबास नै उठ्ने हो कि भन्ने चिन्ता रहेको दमक वडा नं. १० क्षेत्रमा बसोवास गर्दै आउनु भएकी अनिता शेर्माले बताउनु भयो । शेर्माको अनुसार रमा सामुदायिक बन क्षेत्र नजिक रहेको बस्तीमा अझै सिमाङकन हुन नसकेको उहाँले बताउनु भयो ।

चाइना सरकारले पहिलो चरणमा ६४ अर्व रुपयाँ लगानी हुने भनिएको नेपालको औधोगिक क्षेत्रमा अझै पनि पूर्वाधार निर्माणको काम थालनी भएको छैन । लामो समय देखि निर्माण प्रकृया थालिएको औधोगिक पार्क निर्माण कार्य ढिलाई भएको भन्दै स्थानीय बासिन्दाले आक्रोस समेत पोख्न थालेका छन् ।
चाइना सरकारको अरवौैं रुपयाँ लगानी हुने भनिएको नेपालको औधोगिक क्षेत्रमा पहिलो सार्वजनिक निजी साझेदारी पीपीपी मोडलको योजना अनुसार विभिन्न प्रकारका उधोगधन्दा संचालन गरिने बताउँदै आइएको छ । तर १५ महिना अगाडि शिल्यान्यास भएको योजनाले यस बर्ष पनि सरकारले बजेट तथा कार्यक्रममा पारेकाले बन्न थाल्ला कि भन्न आशा समेत पलाएको पार्क क्षेत्र आसपासका बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २८ जना संक्रमित थपिए
Next post झापामा ‘सक्रीय पत्रकार सञ्जाल ’ गठन