आज धिमालको सिरिजातमा सार्वजनिक विदाः सामूहिक जातिरी मनाइदैँ
२ असार २०७९/सारासन्देश समाचार
आदिवासी धिमाललाई पहिलो जाति भनेर सम्मान गरिएको झापा तथा मोरङ्गका केही पालिकाले आज सार्वजनिक विदा दिएको छ । जात्री अर्थात सिरिजात पर्वको आज हुने समापनको अवसरमा सार्वजनिक विदा दिईएको हो । पूर्वि नेपालमा मात्र बसोवास गर्ने आदिवासी समूदायका प्रकृति पुजक धिमाल जातिले नयाँ साल लागेसँगै सिरिजात पर्व मनाउँने गर्दछन् ।
यस अघि वैशाख २ गते उनीहरुको उद्गम स्थल भनेर मानिँदै आएको मोरङ्ग जिल्लाको भोगटेनी राजारानीमा पूजा र मेला शुरु गरेका थिए । सोही पर्वको समापन गर्ने दिन असार २ गते संघीयता आएसँगै स्थानीय सरकारले विदा दिँदै आएको छ । यस पर्वको अवसर पारेर आज दमक, उर्लाबारी, पथरीशनिश्चरे र वेलबारी लगायतका पालिकाले सार्वजनिक विदा दिएको धिमाल जाति विकास केन्द्रका उपाध्यक्ष कृष्ण धिमालले बताउनु भयो ।
खासगरी पूर्वी नेपालको झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने आदिबासी धिमालहरुले लोपोन्मुख सँस्कृतिको जर्गेना गर्न सामुहिक प्रयास थालेका छन् । पूर्खाहरुको उद्गम थलो धिमाल डाँडामा एकै स्थानमा भेला भएर उनीहरुले पूजापाठ सहित यस बर्षको जात्री मेलाको थालनी गरेका हुन् ।
आफ्नो पहिचान लोप हुँदै जान थाले पछि धिमालहरु पछिल्लो समय संस्कार सँस्कृति संरक्षणमा जुट्न थालेका छन् । देशभर रहेका धिमालहरुको उत्पति स्थलको रुपमा मानिदै आइएको मोरङ्गको लेटाङ्ग नगरपालिका वडा नं. १ धिमाल डाँडामा रहेको ग्रामथानमा बृहत पूजाआजा सहित जात्री मेला वैशाख २ गते थालेर आज मंगलबारेमा रहेको ग्रामथानमा समापन हुने धिमाल जातिका राष्ट्रिय पूजारी खड्ग धिमालले बताउनु भयो ।
पूर्वी नेपालमा झापाको दमक र मोरङ्गको ३ वटा पालिकाले धिमाल जातिलाई प्रथम नागरिकरुपमा घोषणा गरेको छ । धिमालहरुको उध्गम थलोको रुपमा राजारानी क्षेत्रको धिमाल डाँडामा वैशाख २ गते पुजापाठ गरे पछि मात्र अन्य तिर जात्रि मेला लगाउन पाउने चलन रहेको दमक नगरपालिका वडा नं. ३ बस्ने माझी समूहका केन्द्रिय अध्यक्ष जयबहादुर धिमालले बताउनु भयो ।
पुराना चलन र धिमाल जातिले संस्कार सँस्कृति संरक्षणमा देशभर रहेको १ सय ८ वटा धिमाल गाऊँमा गाउँ माझी र ग्रामथान राख्ने चलनलाई पछिल्लो समय जोड दिन थालिएको छ । नयाँ पुस्ताले भाषाहरु केही विर्सन्दै गए पनि संस्कृति संरक्षणमा भने चासो दिन थालेका छन् ।
नेपालमा यस अघिको गणनामा २६ हजार हाराहारीमा जनसंख्या रहेको धिमाल जातिले संघीयता आएसँगै आफ्नो सँस्कृति संरक्षणमा विशेष चासो दिन थालेका छन् ।