ठेकेदारको ढिला सुस्तीले बस्तीमा बाढी पस्ने जोखिम बढ्दै

३ असार २०७९/बालदिवश तामाङ

झापाको कमल गाउँपालिका खयरबारी क्षेत्रका बासिन्दाहरु यस बर्ष बाढीको उच्च जोखिममा परेका छन् । चाइनिज कम्पनी एच. जेट. एम. सी. सहित मैनाचुली रोशन जेभीले एक बर्ष अघि लिएको ७० करोड रुपयाँको ठेक्का समयमा काम नगर्दा बस्ती जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन् । कमल गाउँपालिका वडा नं. ६ खयरबारीमा बाँध निर्माणमा ढिलाई हुँदा बाढी पस्ने खतरा बढेको स्थानीय बासिन्दाले बताएका छन् । २ बर्ष अघि रतुवामा आएको बाढी बाँध फुटाएर बस्ती पसे पछि बाँसको बाँध निर्माण गरेर खोला छेकिएको थियो । तर यस बर्ष त्यो अस्थायी बाँसको बाँध पनि भत्काएर नयाँ बाँध निर्माण गर्दै गरिएको क्षेत्रमा काम ढिलो भएकाले खोला सिधै बस्ती पस्ने जोखिम बढेको कमल गाउँपालिका वडा नं. ६ खयरबारीका अगुवा भानुभक्त कार्कीले बताउनु भयो । कार्कीका अनुसार बालुका बाँध लगाइएको भए पनि तारजाली लगाउन ढिलो हुँदा ठूलो बाढी आयो भने बालुवाको बाँध क्षण भरमै कटान भई बाढी पस्ने खतरा रहेको बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानका झण्डै १२ किलो मिटर लम्बाईमा १९ स्थानमा बाँध निर्माण गर्न गत बर्ष नै एशियाली विकास वैंकको ऋण अनुदान सहयोगमा झापामा ठेक्का लागेको हो । गत बर्ष जेष्ठ महिनामै ७० करोडमा ठेक्का लागेको बृहत योजना यतिखेरसम्म ३३ प्रतिशत काम हुनु पर्ने हो । तर अहिलेसम्म ५ प्रतिशत पनि काम नभएको जिल्लामा नदि नियन्त्रणमा कार्य गर्दै आएको जनताको तटबन्ध कार्याक्रमका प्रमुख रुपनारायाण अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार जुन ढंगले काम हुनु पर्ने हो त्यो नभई काममा ढिला सुस्ती गरेकाले बस्तीमा बाढी पस्ने जोखिम त्यतिकै बढेको छ ।

खयरबारी क्षेत्रमा यस अघि लगाइएको बाँसको बाँध भत्काएर माटो र तारजालिको बाँध निर्माण भइरहेको छ । बाढी नआई बाँध नबाँध्ने हो भने बाढी पस्ने अति खतरा रहेको छ । बर्षा लागिसक्दा काम नसकिएकाले बस्ती बग्ने जोखिम बढेको खयरबारी क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

झापाको मुख्य ७ वटा ठूलो नदि तथा खोलामा बजेट अभावले नदि नियन्त्रणको काम यस बर्ष प्रभावित बनेको छ । कतै बजेट अभावमा काम रोकिएको छ भने कतै ठेक्का लागेर पनि काम नहुँदा दर्जनौं बस्ती जोखिममा परेको बाढी प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज थप ३४ जनामा सङ्क्रमण देखियाे
Next post नेपालमा आज थप १४ जनामा सङ्क्रमण