बाढीले बस्ती नै बगाउने जोखिममाः जोखिम क्षेत्रको जिल्लाको उच्च टोलीबाट अनुगमन र पीडितलाई राहत वितरण
१५ असार २०७९/डिकेश लामा
केही दिन यता परेको बर्षाले रतुवा खोलामा आएको बाढीका कारण झापाको गौरादह नगरपालिका वडा नं. ६ को तेलियाडाँगी बस्ती टापुमा परिणत भएको छ । रतुवा नदिको बाढीले बस्तीलाई घेरे पछि बस्तीका मानिसहरु जोखिममा परेका छन् । उक्त जोखिम क्षेत्रमा जिल्लाका उच्च टोलीले अनुगमन गरेको छ । बाढीको उच्च जोखिम क्षेत्रको अनुगमन गर्दै झापा जिल्लका प्रमुख जिल्ला अधिकारी छलिलाल रिजालले धेरै क्षेत्र जोखिममा परेकाले त्यस्तो स्थानबाट प्रहरी, सेना, रेडक्रस कर्मी, विपद व्यवस्थापन टोली सहितले उदार गर्ने र उचित स्थानमा सार्ने काम भइरहेको बताउनु भएको छ । रिजालका अनुसार जिल्लामा पछिल्लो बर्षाले झण्डै १ हजार घर परिवार प्रभावित भएका छन् भने ३ सय घर परिवार विस्थापित बनेका छन् ।
जोखिम क्षेत्रको अनुगमनसँगै नेपाल रेडक्रस सोसाइटी झापाले भने राहतका सामाग्री समेत वितरण गर्दै आएको छ । आजै मात्र झापाको गौरादह, गौरीगंज, शिवसताक्षी लगायतका १ सय भन्दा धेरै परिवारलाई रेडक्रसले सेनेटरी सेट, त्रिपाल र स्थानीय सरकार मार्फत सामुहिक खानाका लागि चामल वितरण गरिएको सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनु भयो । ढकालका अनुसार बाढी पीडितको उदारका लागि हाल सोसाइटी पूर्णरुपमा खटेर उदार र राहत वितरणको काम गरी रहेको बताउनु भयो । झापाको गौरादह नगरपालिका वडा नं. ६ तेलियाडाँगी बस्तीको ८० घर परिवार यतिखर श्रीलंका जस्तै टापुमा परिणत भएको छ । बाढीले चारैतिर घेरेपछि बस्ती उच्च जोखिममा रहेको बस्तीबाट बाहिर आएका स्थानीय रुकलाल शर्माले बताउनु भयो ।
जल तथा मौषम विज्ञान विभाग पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार ३ दिन निरन्तर बर्षा हुने भएकाले बाढीकोबीचमा परेको बस्ती उच्च जोखिममा रहेको छ । मानवीय क्षति हुन नदिनका लागि आफूहरु सचेत रहेकाले बस्तीको मानिसलाई राख्ने विकल्पको खोजी गर्न थालिएको अनुगमनमा निस्कनु भएका गाैरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयाे । सुवेदीका अनुसार जाेखिम बस्तीहरू बचाउन सरकारका अन्य निकायसँगकाे समन्वयमा तत्काल राेकथाममा लाग्ने बताउनु भयाे ।
यस्तै झापाका अन्य दर्जनबढी स्थानमा बाढीको उच्च जोखिम रहेको छ । झण्डै ३ सय घर परिवार बाढी पसेर विस्थापित भईसकेका छन् । बर्षेनी बाढी पसेर घर छाडेर भाग्नु पर्ने समस्याबाट दिर्घकालीन समाधान गरिनु पर्ने विस्थापितहरुले बताएका छन् । बाढी पसेर विस्थापित भएकाहरु यतिखेर विधालय तथा अन्य सार्वजनिक स्थलका टहरा तथा भवनहरुमा शरण लिएर बसेका छन् । भिजेर भाग्नु पर्दा उचित गाँस, बास र कपासको व्यवस्था हुन सकेको छैन । जसका कारण हैजा र अन्य रोगबाट ग्रसित हुन सक्ने भन्दै सरकारलाई सहयोग गर्न उनीहरुले माग गरेका छन् ।