सुनापति शाेकमा सिंगाे गाउँका ८ जनाकाे एउटै चिहान, ज्यान गुमाउनेकाे संख्या १३ पुग्याेः २५ जना गम्भीर घाइते
२१ असार २०७९, रामेछाप- रामेछाप जिल्लाको सुनापाती गाउँपालिका शाेकमा डुवेकाे छ । एउटै गाउँका ८ जना सहित १३ जनाकाे बस दुुर्घटनामा मृत्यु हुँदा सिंगाे गाउँ शाेकमा परेकाे छ । सुनापाति गाउँपालिका स्थित लुभुघाटमा आज बिहान बस हिडेकाे १० – १५ मिनेटमै बस भीरबाट खसेर तल्लाे सडकमा बजारिएकाे छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा ९ जनाकाे घटना स्थल र ४ जनाकाे उपचारकाेक्रममा काभ्रेको धुलिखेल अस्पताल मृत्यु भएकाे छ । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ । सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको हो । मृत्यु हुनेकाे सुनापति गाउँपालिका वडा नं. ५ का २६ बर्षीय समरिता तामाङ र वडा नं. ५ का ६० बर्षीय ठुला तामाङ, खड्गबहादुर विक, विपना तामाङ (२२), सन्जु अाले मगर (३६), रामबहादुर श्रेषठ (४५), बृद्ध तामाङ (२४) रहेका छन् । यस्तै जिल्लाका राेशी गाउँपालिका वडा नं. ४ का कमल तामाङ (२५), पाँचखाल नगरपालिका ८ का सुदिप गजमेर (१८), मण्डन देउपुरकी शुभलक्षमी मानन्धर र पाँचखाल नपाकै कुलबहादुर विक रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताउनु भयाे ।
एक जना मृतक महिलाको सनाखत हुन सकेको छैन । प्रनाउ थिङका अनुसार सुनापति ३ हिलेदेवीको स्वाँराबाट काठमाडौंका लागि छुटेको पूर्व अरनिको यातायात समितिको बा ३ ख ८३९६ नम्बरको झण्डै ४० जना हाराहारीमा यात्रु बाेकेकाे बस लुभुबजारबाट केही उत्तर पर्ने घुम्तीबाट खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका २५ जनालाई उपचारका लागि एम्बुलेन्स र हेलिकोप्टरबाट काठमाण्डौं पठाइएको छ । घाइते धेरैजसोको अवस्था गम्भीर छ ।