दमकको बजेट पारित हुनुको सट्टा विवाद चुलिँदै
३२ असार २०७९/सारासन्देश समाचार
झापाको दमक नगरपालिकाको बजेट पारित हुनुका सट्टा विवाद चुलिँदै गएको छ । जिल्लामा सवै स्थानीय तहले बजेट पारित गरिसक्दा दमक नगर पालिकामा भने पटक पटक नगरसभा स्थगित हुन पुगेको छ । संविधानले तोके बमोजिमको समयावधिमा बजेट पारित हुन नसके पछि अहिले आएर एक अर्कालाई कम्जोरी देखाउने कार्य थालेका छन् ।
२ दिन अघि एमाले पार्टीले पत्रकार सम्मेलन गरी नगरप्रमुखले पञ्चायती व्यवस्थामा जस्तो चरित्र देखाएको आरोप लगाएका छन् । यता आज गठबन्धन दलले पत्रकार सम्मेलन गर्दै नेकपा एमालले इतिहासमै नभएको र संविधान ऐन कानुनले परिकल्पना नगरेको स्थानीय सरकारमा छाया सरकारको अभ्यास गर्ने गरी एमाले जनप्रतिनिधिले दमक नगरपालिकामा प्रतिपक्ष दलको नेता र निजका लागि छुट्टै कार्यकक्ष, मोटर र अन्य सुविधाको माग राख्नु आपतिजनक विषय भएको बताएको छ ।
दमकमा गठबन्धनमा रहेका राप्रपा, नेपाली काँग्रेश, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा समाजवादी पार्टीका नगरस्तरीय नेतृत्वले आज सँयुक्तरुपमा हस्ताक्षर गर्दै विज्ञप्ती जारी गरेर नगरबासीलाई स्थानीय सरकार मार्फत प्रदान गर्नु पर्ने सेवा प्रवाहमा गम्भीरता पूर्वक जिम्मेवारी भएर लाग्न एमालेलाई आग्रह समेत गरेको छ । एमाले पार्टीले बजेट पारित हुन नदिदाँ सिंगो नगरबासीमा समस्या हुने भएकाले सवैले यस प्रति ध्यान दिन राजनैतिक अगुवाहरुले आग्रह गरेका छन् ।