लोप बन्दै गएको जुट खेतीलाई प्रदेश सरकारबाट यो बर्ष देखि प्रवर्धन गरिँदै(फाेटाे फिचर)
२५ भदौ २०७९/बालदिवश तामाङ
झापा–पूर्वी नेपालमै अधिकरुपमा जुट खेती घट्न थाले पछि प्रदेश सरकारले खेती विस्तारमा चासो देखाएको छ । पछिल्लो समय जुट मिलका लागि कच्चा पदार्थ सुनपाट भारतमा निर्भर हुनु पर्ने अवस्था आए पछि यस बर्ष देखि जुट खेतीका लागि अनुदानको कार्यक्रम राखिएको छ । केही बर्ष यता प्रदेश नम्बर एकमा अधिक खेती गरिने जुट खेती अधिक घट्न थाले पछि यसको प्रवर्धनमा किसानको माग अनुसार यस बर्ष देखि अनुदानका लागि बजेट समेत विनियोजन गरिएको छ ।
कुनै वेला झापामा ३ हजार हेक्टर भन्दा धेरै क्षेत्रफलमा जुट अर्थात पाटा खेती हुने गथ्र्यो । तर पछिल्लो समय किसानले खेती छाड्दै लगे पछि अहिले खेती नै लोप हुने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्र झापामा निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । पाटा खेती घटेसँगै यसको उत्पादन पनि घटेको छ । पहिले पहिले दिनमा एक सय मनसम्म पाटा खरिद गर्ने किसानले अहिले एक मन पनि किन्न मुश्किल पर्ने गरेको लामो समय देखि गौरीगंज क्षेत्रमा जुटको काँटा संचालन गर्दै आएका व्यवसायीले राजिब बन्जियार बताएका छन् । बन्जियारका अनुसार बर्षेनी पाटा बजारमा आउनेक्रम घट्दै गएको छ ।
बर्षेनी जुट खेती घट्दै गए पछि नेपालमा जुट मिलमा आवश्यक कच्चा पदार्थको अभाव हुन थालेको छ । चाल आर्थिक बर्षमा जुट खेती प्रवर्धनमा आफूहरुले जोड दिएको प्रदेश नम्बर एकका कृषि मन्त्री झलकसिंह मगरले बताउनु भयो । मन्त्री मगरका अनुसार किसानहरुले पाटा खेती गर्न चाहाने किसानहरुले पवर्धनमा अनुदानको माग गरे पछि यस बर्ष खासगरी जुट खेती हुने जिल्लाहरुमा किसानलाई अनुदानको कार्याक्रम राखिएको उहाँले बताउनु भयो ।
जुट खेती गर्दा जनशक्ति र उत्पादनमा धेरै खर्च लाग्ने गर्दछ । तर बजार र मौषमको निश्चित नहुँदा किसानहरु बर्षेनी मारमा पर्ने गरेकाले जुट खेती लोप हुने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । वेला झापा जिल्लामा ५ हजार हेक्टर बढी क्षेत्रमा खेती हुने जुट खेती पछिल्लो समय ९० प्रतिशत भन्दा धेरै घटेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।