पहिरो र बाढीले २२ जनाको मृत्युः अझै केही बेपत्ता (फाेटाे फिचर)

१ असाेज २०७९,धनगढी- लगातारको वर्षासँगै आएको पहिरोकाे कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म २२ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता छन् । उहाँका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि सुर्खेत लगिएको छ ।

उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । हालसम्म तुर्माखाँद गाउँपालिका–५ मा चार, कमलबजार नगरपालिका–६ मा सात र वडा नं ८ मा पाँच जनाको शव भेटिएको छ । प्रशासन कार्यालयका अनुसार उक्त वडामा तीनजना पहिरामा परी बेपत्ता छन् । निमित्त प्रजिअ रिजालका अनुसार ढकारी गाउँपालिका–६ मा एकजनाको शव भेटिएको छ भने एक बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले अछाममा पहिरामा परी मृत्यु भएकाको शव व्यवस्थापनदेखि घाइतेको उद्धार र बेपत्ताको खोजीमा प्रहरी परिचालन गरिएको बताउनुभयो ।

त्यस्तैगरी सुदूरपश्चिमको सात पहाडी जिल्ला जोड्ने भीमदत्त मार्ग अवरुद्ध भएको छ । अछाममा सञ्चार सेवासमेत अवरुद्ध छ । लगातारको वर्षाका कारण कैलाली र कञ्चनपुर सयौँ परिवार डुबानका कारण विस्थापित भएका छन् । वर्षापछि कञ्चनपुरको मछेली, बनहरा र दोदा नदीको बाढी बस्तीमा पसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

जिल्लाको वनहरा शिविर, कृष्णपुर नगरपालिकाको तटीय क्षेत्रका वडाहरु, लालझाडी गाउँपालिका–३, शुक्लाफाँटा नगरपालिका–१२, बेलौरी नगरपालिका–५ लगायतमा बाढी घरमा पसेको र डुबान भएको छ । वर्षाका कारण महाकाली र नौगाडमा ठूलो धनजनको क्षति भएको थियो । विपद् व्यवस्थापन समितिले मानवीय क्षति तथा भौतिक क्षतिको विवरण गृह मन्त्रालय, सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारलाई पठाइएको नौगाडका अध्यक्ष दलजीतसिंह धामीले बताउनुभयो । बाढीपहिरामा परी दार्चुलामा पाँचजनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चाड पर्व लक्षित नयाँ मोटरसाइकलहरू बजारमा अाउन थाले
Next post Mostbet Yukle Azerbaycan APK: Indir & Downlo