अगुवा धानको क्षतिले किसान मारमाः अझै अघिल्लो बर्षको क्षतिपूर्ती पनि पाउन सकेनन् किसानले (फाेटाे फिचर)
२८ असोज २०७९/डिकेश लामा
प्रदेश नम्बर एकमा सवै भन्दा धेरै धान खेती हुने झापा जिल्लामा यस बर्षको अगुवा धानमा क्षति पुगेको छ । हिउँदे बाली लगाउन झण्डै १० देखि १५ प्रतिशत क्षेत्रमा लगाइने अगुवा धान हावा र पानीका कारण लडेर क्षति पुगे पछि किसान मारमा परेका छन् । अघिल्लो बर्षको कार्तिक पहिलो सातामा आएको वेमौषमी बर्षा र बाढीले क्षति व्यहोर्न बाध्य किसान यस बर्ष पनि लामो समय मनसुन रहेकाले समस्यामा परेका छन् । भदौ महिनाको अन्त्य तिरै पाक्ने अगुवा धान पानीका कारण काट्न समस्या परेकाले धेरै किसानको धान खेतमै लडेर काम नलाग्ने भएको छ ।
गत बर्ष वेमौषमीले बर्षाले गरेको क्षतिका कारण आधा पनि धान थन्काउन नपाएका किसान यस बर्ष पनि मारमा परेका छन् । असोज महिनाको अन्त्य तिर लगातार आएको पानी र हावाले अगुवा धानमा अधिक क्षति गरेको गौरादह नगर पालिका वडा नं. ७ मा १ सय २५ विगाह क्षेत्रमा सामुहिक धान खेती गर्दै आउनु भएका इच्छाराम सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार आफूले मात्रै ५ विगाह बढीमा धान खेती गर्नु भएको छ । समूहले विऊ उत्पादनमा काम गर्दै आएका छन् । तर अगुवा धान धेरै किसानको लडे पछि धेरै मार खेप्नु परेकाले सरकारले क्षतिपूर्ती दिने व्यवस्था गर्न उहाँले माग गर्नु भयो ।
चाँडै हिउँदे बाली रोप्नका लागि किसानले अगुवा धान रोप्ने गर्दछन् । भदौ महिनाको अन्त्य देखि असोजको शुरुवात तिरै पाक्ने धान पानीका कारण लडेर थन्काउन नसक्दा क्षतिसँगै हिउँदे बालीमा समेत असर परेको पीडित किसानले दुखेसो पोखेका छन् । खेतीमा प्रोत्साहन गर्न सरकारले किसानलाई यान्त्रिकीकरणमा जोड दिन थालेको छ । प्रविधिको विकाससँगै कृषिमा उत्पादन समेत बृद्धि हुन थाले पछि धान खेतीमा आकार्षण बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण धान सुपरजोन झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार उपात्दकत्व बृद्धि हुँदै गए पनि बजार र किसानको समस्या सुनवाइमा अझै पनि सरकारको ध्यान पूर्णरुपमा पुग्न सकेको छैन । वेमौषमी बर्षाले गरेको क्षति दिन आवश्यक प्रकृया चलिरहेको उहाँले बताउनु भयो ।
झापा जिल्लामा यो बर्ष झण्डै ८७ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । अघिल्लो बर्षको क्षतिको अनुदान पाउने आशामा बसेका किसान यो बर्ष पनि अगुवा धानमा क्षति पुगेकाले थप समस्यामा परेको उनीहरुले बताएका छन् ।