हार्दिक श्रद्धाञ्जलीः शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ बर्षकाे उमेरमा निधन

३० असाेज २०७९,काठमाण्डाैं–संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको किष्ट अस्पतालका कार्यकारी निर्देशक अमिश पाठकले पुष्टि गर्नुभएको छ ।

तीन हप्ता बढी अस्पतालमा भर्ना भएका १ सय ३ वर्षीय जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो । पछिल्लो समय उहाँलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो । उहाँकाे आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिने परिवार स्राेतले जानकारी दिएकाे छ ।

वि.सं. २०२८ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाइमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदन पुरस्कार पाउनु भएकाे थियाे । त्यसअघि नै जोशीले हाम्रो लोक संस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी तीनपटक मदन पुरस्कार पाउनु भएकाे थियाे ।  जीवित हुँदै हुलाक टिकटमा तस्बिर प्रकाशित हुने जाेशी पहिलो नेपाली नागरिक पनि हुनुहुन्छ ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहेका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार समेत हुनु हुन्थ्याे । जाेशीकाे निधनले देशले एउटा जिवीत इतिहास गुमाएकाे छ । सारासन्देश परिवार उहाँकाे निधन प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अपांगतामैत्री सार्वजनिक यातायात सेवा र संरचनाका लागि सरोकारवालाकाे चासाे
Next post हराइएका दुई किशाेर किशाेरीकाे शव जंगलमा गाडेकाे अवस्था फेला