अमेरिकी डलरको मूल्य निरन्तर उकालाेः आज हालसम्मकै उच्च

३ कार्तिक २०७९,काठमाडौं- पछिल्लो समय अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दर अनुसार १ अमेरिकी डलरको खरिददर १ सय ३२ रुपैयाँ ५४ पैँसा छ । यस्तै बिक्रीदर १ सय ३३ रुपैयाँ १४ पैसा छ । केन्द्रीय बैंकले अधिल्लो दिन एक अमेरिकी डलरको खरिददर १ सय ३१ रुपैयाँ ४८ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ आठ पैसा तोकेको थियो ।

त्यस्तै आज युरोको खरिद मूल्य एक सय २९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य एक सय ३० रुपैयाँ २४ पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमयदर रहेको र अमेरिकी डलर बलियो बन्दा भारुको मूल्य खस्कने भएकाले त्यसको असर नेपाली मुद्रालाई पर्ने गरेको छ ।

पछिल्लो समय अमेरिकी डलरको मूल्यमा लगातार वृद्धि हुँदा विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा सकारात्मक प्रभाव रहन्छ । तर, नेपालको अर्थतन्त्रमा अमेरिकी डलर बलियो बन्दा त्यसको प्रभाव नकारात्मक समेत पर्ने अर्थ विज्ञहरूले बताएका छन् । नेपालको वैदेशिक व्यापार स्थिति निर्यातका तुलनामा आयात उच्च रहने भएकाले त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ । यसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमासमेत असर पार्छ । त्यस्तै डलरको भाउ बढ्ने वित्तिकै आयातीत बस्तु, इन्धनलगायतको मूल्य बढ्ने, विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको मूल्यसँगै बढ्ने भएकाले नेपाली बजारमा मँहगी थप उकालाे लाग्ने अवस्था रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा गह्रा सुधारमा जोडः ठूला गह्राबाट उत्पादन समेत बृद्धि (फाेटाे फिचर)
Next post नेपालमा आज ५४ जनामा संक्रमण