आफ्नै निर्वाचन क्षेत्रमा ओली कतिकाे सुरक्षित?

८ माघ २०७७, काठमाडौं । कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेका छन् । चुनाव गर्ने मात्र होइन, दुईतिहाई बहुमत ल्याउने, ५० लाख समानुपातिक मत प्राप्त गर्ने र प्रत्यक्षतर्फ एक्लै १६५ सीट जित्ने दाबीसमेत ओलीले गरेका छन् । प्रचण्ड– माधव समूहका नेताहरुमा चुनाव जित्ने आँट नभएको ओलीको आरोप छ ।

बैशाखमा मध्यावधि निर्वाचन हुन्छ वा हुँदैन ? यो विषय सर्वोच्च अदालतले संसद पुनस्थापना गर्छ/गर्दैन भन्ने प्रश्नसँग गाँसिएको छ । अदालतले निर्वाचनको बाटो खोलिदियो भने पनि ओलीले बैशाखमै चुनाव गराउन सक्छन् कि सक्दैनन् भन्ने अर्को प्रश्न बाँकी नै रहनेछ ।

तर, ओलीले चुनाव गराइहाले भने पनि त्यो उनका लागि ‘हार्ने चुनाव’ बन्न सक्छ । किनभने, झापामा स्वयं ओलीकै जीत सुनिश्चित छैन । उनको क्याबिनेटमा रहेका अधिकांश बहालवाला मन्त्रीहरुको पनि जित निश्चित छैन । सरकारमा नरहेका अरु नेताहरुको त कुरै नगरौं ।

नेकपा फुटेको अहिलेकै अवस्थामा चुनाव भइहाल्यो भने ओलीको क्याबिनेटमा रहेका २४ जना मन्त्रीमध्ये अधिकांशको पत्तासाफ हुने सम्भावना देखिएको छ । स्वयं प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो चुनाव क्षेत्र झापा ५ मा असुरक्षित देखिन्छन् ।

झापा क्षेत्र नम्बर ५ को गणित

केपी ओलीले ०७४ सालको आम निर्वाचनमा झापाको क्षेत्र नम्बर ५ बाट चुनाव जितेका हुन् । यो क्षेत्रमा नेकपा र कांग्रेस मात्र होइन, राप्रपाको समेत बलियो उपस्थिति छ । राजनीतिका चतुर खेलाडी मानिने ओलीले ०७४ को चुनाबमा माओवादीको मतले मात्र जित्ने विश्वास नभएपछि राप्रपासँग पनि तालमेल गरेर अत्यधीक बहुमत प्राप्त गरेका थिए । गत चुनावसम्म आम जनतामा ओलीप्रति आकर्षण र विश्वास रहेका कारण उनले व्यक्तिगत एवं गैरदलीय मतसमेत प्राप्त गरेका थिए । तर, अहिले उनको दल मात्रै फुटेको छैन, लोकप्रियतासमेत टुटेको स्थिति छ ।

गत चुनावमा ओलीले पाएको मतमध्ये तत्कालीन एमालेको वास्तविक मत कति थियो भनेर बुझ्न स्थानीय चुनावको मत परिणाम हेर्नुपर्ने हुन्छ । ओलीको चुनाव क्षेत्रमा चार स्थानीय तह छन्–दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका । यी चार स्थानीय तहमध्ये गौरादह नगरपालिकामा कांग्रेसले मेयर पद जितेको थियो भने गौरीगञ्जमा राप्रपाले जितेको थियो ।

गौरीगञ्जमा त एमालेको मत माओवादीको भन्दा पनि थोरै, चौथो स्थानमा थियो । दमक नगरपालिकामा चाहिँ एमालेले मेयरसहितका प्रायः सबै पदहरु जितेको थियो । अर्को स्थानीय तह कमल गाउँपालिकामा भने कांग्रेस र एमालेको मत बराबरी हुँदा गोलाप्रथाबाट एमालेले जित हात पारेको थियो ।

यसरी ओलीको चुनाव क्षेत्रभित्र पर्ने चार स्थानीय तहको गणितलाई हेर्दा एमाले एक्लै निर्वाचन लडेको अवस्थामा ओलीलाई जोखिम हुने देखिन्छ । अझ, अहिले त पूर्व एमाले समूहमा समेत विभाजन आएको अवस्था छ ।

हुन त मदन भण्डारीको जस्तो हिम्मत भएको भए केपी ओलीले काठमाडौंबाटै चुनाव लड्ने आँट गर्नुपर्ने हो । कमसेकम आफ्नो घर रहेको भक्तपुरबाट चुनाव लड्नुपर्ने हो । तर, उनले झापा क्षेत्र नम्बर ५ लाई नै सुरक्षित ठानेको देखिन्छ ।

गत चुनावमा ओलीले झापा क्षेत्र नम्बर ५ बाट ५७ हजार मत पाएका थिए । दोस्रो बनेका कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार मात्रै मत पाएका थिए । तर, ओलीले पाएको यो मतमा माओवादीको मात्र नभई राप्रपाको समेत मत खप्टिएको थियो । आफ्नो जितलाई सुनिश्चित गर्न ओलीले क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङदेनलाई सघाएका थिए भने राप्रपाको उल्लेख्य मत रहेको आफ्नो क्षेत्रमा राप्रपाको समर्थन जुटाएका थिए ।

गौरादह नगरपालिका र कमल गाउँपालिकामा गत स्थानीय चुनावमा कांग्रेसले तत्कालीन एमालेले उसै पनि टक्कर दिइसकेको अवस्था छ । गौरीगञ्जमा एमाले निकै नै कमजोर अवस्थामा छ । यो अवस्थामा केपी ओलीले चुनाव जित्छन् भनेर ढुक्क बन्न नसकिने झापालीहरु बताउँछन् ।

केपी ओलीले गत चुनावमा पाएको ५७ हजार मतलाई हेरेर आफूले चुनाव जित्ने निश्चित भएको दाबी गरेका हुन सक्छन् । तर, देशमा आउने माहौल हेरेर मतदाताहरु भावनामा बग्ने नेपालजस्तो मुलुकमा पुरानो गणितका आधारमा गरिने हिसाब–किताब फेल खाने गरेको छ ।

जस्तो कि– २०५६ को आम निर्वाचनमा मोरङमा तत्कालीन एमाले नेता भरतमोहन अधिकारीले दसौं हजारको फराककिलो मतान्तरले जितेका थिए, ०६४ को चुनावमा उनले चुनाव हारे । स्वयं केपी ओलीले पनि ०५६ को चुनावमा कांग्रेसलाई फराकिलो मतान्तरले हराएका थिए । तर, ०६४ को चुनावमा उनी माओवादीका सामान्य उम्मेद्वारसँग हारे ।

त्यस्तै वामदेव गौतमले बर्दियामा एमाले र माओवादीको ०७० सालको मत जोडेर कांग्रेसको भन्दा २८ हजार बढी हुने हिसाब निकालेका थिए, तर कांग्रेससँग ७ सयको मतान्तरले पराजय व्यहोर्नुपर्‍यो । यी सबै दृष्टान्तले के भन्छन् भने केपी ओली ०७४ सालको मतान्तर फराकिलो छ भन्दैमा पार्टी फुटेको अवस्थामा जीत सुनिश्चित छ भनिहाल्न सकिँदैन । —समाचार स्राेत अनलाइन खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा निकाे हुने ९८ प्रतिशत नजिक
Next post १० लाख डाेज खाेप नेपाल आयाे