झापामा प्रत्यक्ष उम्मेद्वारको अन्तिम मत परिणाम सार्वजनिक (फाेटाे फिचर)
झापामा एमालेको अग्रताः प्रतिनिधिसभामा ३ र प्रदेशसभा सदस्यमा ६ स्थानमा विजयी
९ मंसीर २०७९/डिकेश लामा
झापामा प्रतिनिधिसभा र प्रदेशसभातर्फ पाँचवटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस्य अन्तर्गत झापामा एमालेले तीन, कांग्रेसले एक र राप्रपाले एक स्थानमा जित निकालेको छ । जसअन्तर्गत झापा–१ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, झापा ३ मा राप्रपाका राजेन्द्र लिङदेन, झापा–२ मा एमालेका देवराज घिमिरे, झापा–४ मा एमालेका एलपी साँवा र झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । शर्माले एमालेका अग्नि खरेललाई १४ हजार २ सय २५ मतान्तरमा ३९ हजार ६२४ मत ल्याएर विजयी बन्नु भएको हो ।
यस्तै लिङदेनले ४०६४८ मत ल्याउँदा उहाँको निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेशका कृष्ण सिटौलाले ३७ हजार ३७२ मत ल्याउनु भएको छ । यता क्षेत्र नं. २ मा घिमिरेले २८ हजार ६९७ मत प्राप्त गर्दा उहाँको निकटतम् प्रतिद्वन्द्वी भद्रप्रसाद नेपालले २६ हजार ४४१ मत ल्याउनु भएको छ । यस्तै क्षेत्र नं. ४ मा साँवाले २९ हजार ३१५ मत प्राप्त गर्दा उहाँको प्रतिपक्षी नेपाली काँग्रेशका जिल्ला सभापति देउकुमार थेवेले २२ हजार ४४८ मत प्राप्त गर्नु भएको छ । यसै गरी नेपालकै चासोको रुपमा हेरिएको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेलेका अध्यक्ष ओलीले यस पटक पनि भारी मतान्तरमा विजय प्राप्त गर्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी डा. खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नु भएको छ ।
यस्तै झापमा प्रदेशसभा सदस्यतर्फ एमालेले अग्रता कायम गरेको छ । ६ स्थानमा एमाले र २/२ स्थानमा काँग्रेश र राप्रपाले जितेका छन् ।
एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं. २ (१)मा एकराज कार्की, २(२)मा तिलचन पाठक, ३(२) मा छविलाल चुडाल, ४(१) मा राधाकृष्ण खनाल र ५ को १ र २ मा हिक्मत कार्की र होमबहादुर थापा विजयी बन्नु भएको छ । उहाँहरुले क्रमशः नेकपा एसका पुष्प पोखरेल, नेकाका खगेन्द्र मैनाली, माओबादी केन्द्रका पूर्णसिंह राजबंशी, माकेका झलकबहादुर मगर, नेपाली काँग्रेशका जिवन राई र माओवादी केन्द्रका रेवतराज पुरीलाई पराजित गरेका हुन् । झापामा माओवादी केन्द्रले कुनै पनि स्थानमा जित हासिल गर्न सकेन ।
यस्तै काँग्रेशबाट १ को (१) मा गोपाल तामाङ र ३ को (१) मा भूमिप्रसाद राजबंशी विजयी बनेका छन् । विजयी तामाङले एमालेका रविन कोइरा र राजबंशीले एमालेका बसन्तकुमार बानियालाई हराएका छन् । यस्तै राप्रपाबाट १ को (२) मा सविना बजगाईं र ४ को (२)मा भक्तिप्रसाद सिटौला विजयी बन्नु भएको छ । उहाँहरुले क्रमशः माओवादी केन्द्रका श्याविर लिम्बु र काँग्रेशका एकराज उप्रेतीलाई हराएका छन् ।
विजयी उम्मेद्वारले आ–आफ्नो निर्वाचन क्षेत्रमा विजय जुलुस समेत गरेका छन् । यस्तै यता समानुपातिक तर्फको मतगणना भने धमाधम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । समानुपातिक मतगणना अब २ दिनमा सक्ने गरी गणना भईरहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो ।