योजना अलपत्र हुँदा हटेन चुरे क्षेत्रको खानेपानी समस्या (फाेटाे फिचर)
२४ पौष २०७९/डिकेश लामा
बर्षौं देखि खानेपानी समस्या भोग्दै आएका चुरे क्षेत्रका बासिन्दाको समस्या अझै पनि हट्न सकेको छैन । सरकारको झण्डै ३ करोड रकमबाट ४ बर्ष देखि निर्माण थालेको योजना अलपत्र बने पछि सयौं घर परिवार खानेपानीको समस्यामा बस्न बाध्य छन् ।
झापा र इलामको सिमा क्षेत्र चुरे बस्तीका बासिन्दालाई लक्षित गरी ४ बर्ष अघि मावा खोलाबाट लिफ्ट सिस्टमको खानेपानी संचालन गरियो । तर पानी संचालन भएको केही महिना मै बाढीले बाँध भत्काए पछि खानेपानी योजना अलपत्र बन्न पुगेको स्थानीय अगुवा अमृत राईले बताउनु भयो । राईका अनुसार केही समयसम्म खानेपानी संचलन आएको थियो । तर बाढीका कारण मुहानमा क्षति भए पछि अहिले अलपत्र परेको छ ।
योजना अलपत्र परे पछि अहिले चुरे क्षेत्रका बासिन्दामा खानेपानीको समस्या छ । पानी तान्न मावा खोलामा बनाइएको ट्याङकीमा क्षती पुगे अहिले मर्मतका लागि गाउँलेहरुले पैसा संकलन गर्न थालेका छन् । स्थानीय बासिन्दा आइतराज राईका अनुसार प्रतिघर ४ र ८ सयका दरले रकम संकलन थालिएको छ । संकलित रकमबाट मुहान मर्मत गरी पानी संचालन गर्ने योजना छ । तर संभव कतिको हुन्छ भन्ने निश्चित नभएको उहाँले बताउनु भयो ।
आर्थिक बर्ष २०७५,०७६ देखि शुरु गरिएको मावा खोला शिखरकटेरी लिफ्ट सिस्टमक खानेपानी योजनामा प्रदेश तथा संघीय सरकारको ३ करोड धेरै बजेट खर्च भइसकेको छ । बर्षेनी मापदण्ड विपरीत खोला उत्खनन्ले पनि बनेका ट्याङकी तथा सिंचाइको योजनाहरु अलपत्र हुन थालेको दुम्से खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हिमदल भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार गहिरो उत्खनन्ले गर्दा करोर्डां रकम लगानी भएको खानेपानी र सिंचाइ उच्च जोखिममा रहेका छन् ।