क्रिकेट खेलाडी लामिछाने थुनामुक्त

२९ पाैष २०७९,काठमाडौं- बलात्कार आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने केन्द्रीय कारागार सुन्धराबाट थुनामुक्त भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले बिहीबार रू २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने तीन महिना नौ दिन कारागारमा बसेर थुनामुक्त भएका हुन् ।

जिल्ला अदालत काठमाडाैँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिइएको थियो । उक्त निवेदनमाथिको सुनुवाइपछि अदालतले धरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो । पाटन उच्च अदालतका रजिष्टार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौँ उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौँको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो ।

गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो । लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो । लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए । लामिछानेलाइ गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ५९ विश्वासकाे मत ल्याउँदै प्रदेश एकमा कार्की बने मुख्य मन्त्री
Next post जाेन्सकाे जन्म जयन्तीमा लाेक कल्याणकारी कार्यक्रम