चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार गुरूङ निलम्बनः भाेलि देशभर स्वास्थ्य सेवा टप्प पार्ने संघकाे निर्णय

२८ माघ २०७९,काठमाडौँ — भीआईपी सवारीका क्रममा चिकित्सकमाथि कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार निलम्बनमा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला शुक्रबार प्रहरीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका हुन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार घटनाको अनुसन्धान गर्नका लागि गुरुङलाई निलम्बन गरिएको हो । काठमाडौं प्रहरी वृत्त जनसेवामा कार्यरत गुरुङलाई काठमाडौं जिल्ला प्रहरी परिसरले निलम्बन गरेको हो । शुक्रबार प्रहरीको कुटपिटबाट ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह टाउको र हातमा चोट लागेपछि ट्र्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ । प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको छ । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ । शनिबार बसेको संघको बैठकले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरको चिकित्सक डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post शरणार्थी शिविरमा शिक्षक र कलाकारकाे सामुहिक सम्मान (फाेटाे फिचर)
Next post भूउपयोग नीति कारण चिया बगान फाँडिदैः पर्यावरणसँगै सयौंको रोजगारी गुम्यो