झापाको विभिन्न स्थानबाट एकै दिन २२ लाखको अवैध सामान नियन्त्रणमा
७ फाल्गुण २०७९/सारासन्देश समाचार
भन्सार छलेर ल्याउँदै गरेको झण्डै २२ लाख मुल्य बराबरको कपडा प्रहरीले शनिवार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज एक प्रेश विज्ञप्ती जारी गर्दै मे १ ज २८०४ नम्बरको पिकअप सहित अवैधरुपमा ल्याउँदै गरेको साडी लगायतका कपडा अन्दाजी १४ लाख ८० हजार मुल्यकाे सामान बरामद गरिएको जानकारी दिइएको छ । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक देवानन्द मिश्रको कमाण्डमा खटेको टोलीले पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत केर्खामा जाँचचेक गर्ने क्रममा सो सामान बरामद गरेको बताइएको छ ।
हल्दिबारी गाउँपालिका वडा नं. २ बस्ने गाडी चालक २४ बर्षीय जनक कर्माकारलाई समेत नियन्त्रणमा लिइएको छ । गाडी र नियन्त्रणमा लिइएको सामान सहित चालक कर्माकारलाई आवाश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
यस्तै दमक बसपार्क नजिकबाट शनिबार साँझ प्र. १ ००१ च –७७२९ नम्बरकाे पिकअपबाट ६ लाख ६१ हजार मुल्य बराबरकाे सामान सहित चालकलाइ नियन्त्रणमा लिइएकाे छ । भद्रपुर नगरपालिका वडा नं. ५ निवासी चालक ३२ बर्षीय अनिल विकलाइ र गाडी समेत नियन्त्रणमा लिइ आवाश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ ।
यसैगरी झापा गाउँपालिका वडा नं. १ सिमाना वेलायतीबारीबाट ५० हजार मुल्य बराबरको जुत्ता नियन्त्रणमा लिइएको छ । यसै गरी शनिबार नै गौरीगंज गाउँपालिका वडा नं. ४ बारासुतीमा समेत भन्सार छलि गरेर ल्याएको प्लाष्टिकको टेवल बाँसझ्याङ नजिक गाइगोठमा लुकाई राखेको ५० हजार मुल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।