सन्दिप विदेश खेल्न जान पाउने, पल छुटे एक बर्षमा आज
१५ फाल्गुण २०७९,काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान दिने निर्णय सुनाएको हो । लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।
नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
यस्तै बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् । नाबालिका बलात्कारको आरोप लागेपछि एक बर्ष अघि आजकै दिन अर्थात फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका उनी आज फागुन १५ नै रिहा भएका छन् । शाहलाई लिन उनका कानुन व्यवसायी कमलामोहन वाग्ले, परिवारका सदस्य र केही साथी कारागार भित्नै गएका छन् । उनीहरुले खादा र माला लगाएर पलको स्वागत गरेका छन् ।
नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् । सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट शाह रिहा हुने थाहा पाएपछि बिहानैदेखि उनका समर्थक दमौलीमा पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नाराबाजीसमेत गरे । कागजी प्रक्रिया पूरा गरेर पल रिहा भएका हुन् ।